|

विराटनगर : भारतले शून्यका विरुद्ध ६ गोलले पराजित गरेपछि माल्दिभ्सले पर्याप्त प्रशिक्षणको अभाव भएको प्रतिक्रिया जनाएको छ।

प्रतियोगिता समापनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै माल्दिभ्सका प्रशिक्षक अथिफ महमदले आफ्ना मध्यक्रमका तीन जना खेलाडी घाइते भएको र नयाँ खेलाडीलाई आवश्यक प्रशिक्षण दिने समय नभएका कारण पराजय व्यहोर्नु परेको बताए। उनले खेलको दोस्रो हाफ सन्तोषजनक रहेको प्रतिक्रिया दिए। उनले आगामी खेलमा खेलाडीले उत्कृष्ठ खेल्ने बताए।

यता भारतीय टिमकी प्रशिक्षक मेमोल नेडुगाडन रक्की खेलाडीको प्रर्दशनबाट आफू खुसी भएको बताइन्। ‘खेलाडीको प्रदर्शनबाट खुसी छु,’ उनले भनिन्, ‘जब यस्तो नतिजा निस्कन्छ, हरेक प्रशिक्षक खुसी हुन्छ।’ दोस्रो हाफमा बल पोजिसनमा राख्दै खेल्न आफूले आग्रह गरेको र खेलाडीले अपेक्षाअनुसार नै प्रदर्शन गरेको उनको भनाइ थियो।

विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिप २०१९ अन्तरगत बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई शून्यका विरुद्ध ६ गोलले पराजित गरेको थियो। खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो। खेलको पहिलो हाफमा ५–० गोल अन्तर बनाएको भारतले दोश्रो हाफमा भने एक गोलमात्र गर्न सफल भयो। माल्दिभ्सले खेलको रणनीति परिवर्तन गरेका कारण दोश्रो हाफ उसका लागि सन्तोषजनक हुनपुग्यो।

जितसँगै भारतले समूह बीमा ३ अंक जोडेको छ। भारतले आउँदो आइतबार श्रीलंकासँग खेल्नेछ। भारतले अहिलेसम्म साफअन्तर्गत भएका १९ वटै खेलमा पराजयको सामना गर्नुपरेको छैन। सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससँग खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.