|

भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न विभिन्न सरोकारवालाहरूले जोड दिएका छन्। उनीहरूले आन्तरिक बाह्य पर्यटकहरूसमेत अवलोकनका लागि आउने बिस्काः जात्रा सञ्चालनका लागि सरोकारवाला निकायहरूको समन्वय र सहकार्य हुनुपर्नेमा समेत जोड दिएका छन्।

भक्तपुर नगरपालिकाले बुधवार आयोजना गरेको विभिन्न कार्यालयका प्रमुखहरू, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीहरूको भेलामा सहभागीहरूले गुठी संस्थान र भैरव नाइकेहरूले पूजा समयमै सम्पन्न गरी जात्रा समयमै सुरु गरी अँध्यारो हुनुभन्दा अगाडि नै सम्पन्न गर्नुपर्ने, हुलहुज्जत गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्ने र कारबाही गरिएकाहरूलाई सार्वजनिकीकरण गर्नुपर्ने, भैरवनाथको रथ तान्नु एक दिन अगाडि रथ निर्माण र रंगरोगनको सम्पूर्ण काम सकाउनुपर्ने, रथ तान्ने डोरी बलियो राख्नुपर्ने, रथ बनाउने रकमीहरूलाई समयमै भुक्तानी दिनुपर्ने सुझावहरू दिएका छन्।

भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गर्न सके भक्तपुर नगर र देशकै प्रतिष्ठा बढ्ने विचार व्यक्त गर्दै बिस्काः जात्रालाई पनि सम्पदाको रूपमा विकास गरी यसको संरक्षण र सम्वर्द्धन गर्न नगरपालिका तत्पर रहेको बताए।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले बिस्काः जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्ने, संस्कृति र जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि लानुपर्ने र जात्राका हरेक गतिविधिलाई लिपिबद्ध गर्नु आवश्यक रहेको बताए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्काः जात्राको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको र ती चुनौतीहरू समाधान गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरे।

भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षहरूमा भएका कमजोरीहरूलाई समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदैं जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका निर्माण सामग्रीहरू हटाउन सूचना प्रकाशित गर्नुपर्ने बताए।

गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनहरूमा देखिएका कमी–कमजोरीहरू नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै जात्रा सञ्चालनमा गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने विश्वास दिलाए।

कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, विद्युत प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्र श्रेष्ठ, स्थानीय अनन्त धौभडेल, हाकुज्या प्रजापति समाजका अध्यक्ष रामबहादुर प्रजापतिलगायतले जात्रालाई व्यवस्थित र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न विभिन्न सुझाव दिएका थिए।

यसैगरी भेलाले बिस्काः जात्रा शान्तिपूर्ण र मर्यादित रूपमा भव्यताका साथ सम्पन्न गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरेको छ।

त्यस्तै भेलाले भक्तपुर नपाले माइकिङ, सूचना प्रवाह, पर्चा पम्प्लेट प्रकाशित गर्ने र नगरवासीहरूलाई विभिन्न गतिविधिमार्फत शान्तिपूर्ण रुपमा जात्रा सञ्चालन गर्न आग्रह गर्ने साथै नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने, जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायहरूले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बिधत संस्थाहरूले समयमै शान्तिपूर्ण र व्यवस्थित रुपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले जात्रा सञ्चालन हुने क्षेत्रहरूमा आ–आफ्ना तार तथा लठ्ठाहरू व्यवस्थित गर्ने र भक्तपुर नपाका जनप्रतिनिधि, सुरक्षा निकायहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, विद्यालय कलेज तथा स्थानीय जनताको व्यापक सहभागितामा र्‍याली तथा सभा गर्ने निर्णयहरू गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.