|

सिन्धुली : सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार अपराह्न आगोलागी हुदाँ चार घर पूर्णरूपमा जलेर नष्ट भएको छन्।

आगलागीका कारण झन्डै ४४ लाख बराबरको क्षति भएको छ। अचानक लागेको आगोका कारण तीनपाटन गाउँपालिका-७ भञ्झ्यांगका ज्ञानबहादुर सार्की, टीकाबहादुर सार्की, हित बहादुर श्रेष्ठ र टेक बहादुर सार्कीको घर पूर्णरूपमा जलेर नष्ट भएको हो।

आगलागीका कारण ज्ञान बहादुर सार्कीको खरले छाएको २ तल्ले कच्ची घर, घरभित्र रहेको अन्नपात, भाँडाबर्तन र लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

त्यस्तै टीकाबहादुर सार्कीको १ तल्ले कच्ची घर (किराना पसल रहेको) र नगद २ लाख रुपैयाँ, भाँडाबर्तन, लत्ताकपडा किराना पसलमा रहेको सम्पूर्ण सामानलगायत अन्दाजी १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले जानकारी दिए।

हित बहादुर श्रेष्ठको जस्ताले छाएको २ वटा २ तल्ले कच्ची घर र २ वटा खरले छाएको गोठ पूर्णरूपमा जलेर नष्ट हुँदा घरमा रहेको २ तोला सुन,१ लाख ७५ हजार नगद,१ वटा बाख्रा २ वटा पाठा र ५ वडा कुखुरा गरी अन्दाजी २२ लाख ५० हजार बराबरको क्षति भएको उनको भनाइ छ।

त्यस्तै, टेक बहादुर सार्कीको खरले छाएको २ तल्ले कच्ची घर र घरभित्र रहेको लत्ता कपडा अन्नपात, भाँडा बर्तन गरी अन्दाजी २ लाख बराबरको क्षति भएको उनले बताए। प्रहरी, स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.