|

काठमाडौं : चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १९ दिनदेखि अनशन बसेका प्रा. डा. गोविन्द केसीको जीवन रक्षा र अनशनप्रति समर्थन जनाउँदै र्‍याली निकालिएको छ।

चिकित्सक, विद्यार्थी चिकित्सक र विवेकशील नेपाली दलले संयुक्त रुपमा माइतीघरबाट निस्केको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै आवसीय चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष डा. विष्णु भण्डारीले डा. केसीले सम्पूर्ण जनताको हित हुने माग राखी अनशन बसेको १९ दिन सम्म पनि सरकारले बेवास्ता गरेको बताए। उनले सरकारको यस्तो रवैया लाजमर्दो भएको उल्लेख गर्दै आफूहरुलाई सरकार प्रतिनै शंका लागेको बताए।

उनले भने- "डा. केसीले अनशन बसेको आज १९ दिन पुग्दा समेत सरकारले वेवास्ता गर्नु भनेको सरकार माथिनै शंका लागेको छ, तर पनि हामी डा. केसीका माग पूरा गरेरै छाड्छौँ। त्यसका लागी भोलिका दिन अझ शसक्त रुपमा आन्दोलन गर्ने छौँ।'

मेडिकल शिक्षाको सुधार गर्नु पर्ने, त्रिवी उपकुलपतिलाई बर्खास्त गर्नु पर्ने, वरिष्ठताको आधारमा डिन नियुक्त हुनुपर्ने जस्ता ९ बुँदे माग राख्दै डा. केसी विगत १९ दिन देखि शिक्षण अस्पतालमा अनशनरत छन्। गत शनिबारदेखि डा.केसी प्रतिनिधि र सरकार पक्ष पटक-पटक बसेको वार्तामा सहमति हुन सकेको छैन। यता पटक-पटक अनशन र बढ्दो उमेरका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.