|

इलाम : मोरङको विराटनगरमा जारी पाँचौं  साफ महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने भएको छ। भुटान नौ वर्षे साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ।

‘ड्रागन गर्ल्स’को उपमाले परिचित भुटानी टोलीले सन् २०१० यता बंगलादेशसँग तीन पटकको सामना गर्दै तीनै पटक पराजित भएको छ। पहिलो साफअघिको मैत्रीपूर्ण खेलमा ७–० ले पराजित बनेको भुटानी टोली साफको पहिलो संस्करणमा ९–० ले पराजित बन्यो। सन् २०१२ को दोस्रो संस्करणमा समेत टोली १–० गोलले पराजित बन्यो।

बंगलादेशविरुद्ध भुटानले तीन खेलमा कुल १७ गोल व्यहोरेको छ। साफमा भुटानी टोलीको उत्कृष्ट नतिजाको रुपमा सन् २०१० मा समूह चरणमा श्रीलंकासँग १–१ गोलको बराबरी रहेको छ। 

यता बंगलादेशी टिम साफको गत संस्करणको उपविजेता र दुई संस्करणको सेमिफाइनलिष्ट टिम समेत हो। साफको कुल १५ खेलमा सात जित, एक बराबरी र सात खेलमा पराजित बनेको टोली भुटानविरुद्धको खेलमा स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने रणनीतिमा हुनेछ।

भुटानविरुद्ध बंगलादेशले फराकिलो जित निकालेको खण्डमा नेपाली टोलीलाई चुनौती थपिनेछ। सन २०१६ को चौथो साफको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा रोक्दा त्यसको घाटा नेपाललाई भएको थियो। गोल अन्तरले दोस्रो भएको भारतले सेमिफाइनलमा समूह ‘ए’ बाट बिजेता बनेको नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइलनमा बंगलादेशलाई समान ३–१ गोल अन्तरले नै हराएर लगातार चौथो उपाधि जितेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.