|

सुर्खेत : कर्णालीका विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले पहिलो पटक बैंकमा चेक साटेर पैसा बुझेका छन्।

जंगलमा बस्दै आएका राउटे पछिल्लो समयमा आधुनिकतातर्फ उन्मुख भएसँगै बैंकमा चेक साट्न पुगेका हुन्। सुर्खेतको लेकबेंशी नगरपालिकाको चिप्लेस्थित वनमा बस्दै आएका राउटे समुदायका मुखियालगायतका युवाहरुले पहिलो पटक बैंकबाट तलब बुझेका छन्। 

पहिलो पटक बैंकिङ कारोबार गरेका राउटेहरु खुसी थिए। ‘पहिलो पटक चेक समाएँ’ मुखिया सूर्यनारायण शाहीले भने, ‘पहिले मुखिया हुँदा तलब पाइँदैन थियो, अब दिन राम्रा आए, मेरा जनता पनि खुसी छन्।’

सामाजिक सेवा केन्द्र देलेखबाट फागुन १२ मा मुखिया पदमा नियुक्ति पाएका मुखियासहित थप दुई जना राउटेले बैंकबाट तलब बुझेका हुन्। मेगा बैंक शाखा सुर्खेतबाट बुधबार चेकमार्फत फागुन महिनाको तलबबापत प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँ तलब बुझे। सामाजिक कार्यकर्ताको रुपमा नियुक्ती पाएका मुखिया सूर्यनारायण, डिलबहादुर शाही, वीरबहादुर शाही, प्रकाश शाही र मैनबहादुर शाहीले चेक साटेर पैसा लिएका हुन्। 

सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हीरासिंह थापाले राउटेलाई बैंकको पहुँचमा पु¥याउन र आधुनिकतातर्फ ल्याउन बैंकमार्फत तलब प्रदान गरिएको बताए। पैसा छुनु हुँदैन भन्ने मान्यता रहेको राउटेहरुले पहिलो पटक बैंकिङ सेवा लिएका हुन्। जंगलमै बासस्थान बनाएर काठका सामग्रीसँग अन्नबाली साटेर जीविकोपार्जन गर्दै आएका राउटेहरु बदलिँदै गएका छन्। 

राउटेहरु केही महिना पहिले मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट बस्ती सुर्खेतको लेकबेंशी नगरपालिकामा बसाइँ सरेका थिए। चिसो मौसममा तराई बस्ती सर्ने राउटेहरु गर्मी सुरु भएसँगै पहाडतिर बस्ती बस्ने गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.