विचार

वेद, पुराण र वास्तु
SHARES

फागुन ३०, २०७५

    सनातन धर्मावलम्बीहरूको प्रामाणिक ग्रन्थ वेद हो। ऋक्, यजु, साम र अथर्व गरी चार स्वरूपमा रहेको वेद शब्दको सामान्य अर्थ हुन्छ– ज्ञान। वेदले मानिसलाई अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी ज्योतितर्फ अगाडि बढाउँछ। ज्ञान, कर्म र उपासनाबाहेक र अन्य व्यवहारिक पक्षका लागि पहिलो माध्यम भएपनि वेद बुझ्न सबैको सामर्थ्य नपुग्ने कारणले तिनलाई सघाउन वा सरल बनाउन वेदांग, स्मृति, पुराण, उपवेद आदि बनाइएको पाइन्छ। अन्य व्यावहारिक विषय जस्तै वेदका विभिन्न सन्दर्भमा वास्तु शब्दको उल्लेख भएको पाइन्छ। वेदको मन्त्रसंहिताका विभिन्न प्रसंगमा वास्तुको सन्दर्भ आए पनि अहिले प्रचलनमा रहेकोजस्तो स्वरूपको नभएको बुझिन्छ। 

    शुक्ल यजुर्वेदअन्तर्गतको कात्यायन वाजसनेयी शाखामा वास्तुको वर्णन छ। वापी–कूप–तडागाऽऽराने, देवतायतन, पुष्करिणीजस्ता वास्तुसम्बन्धी विभिन्न कर्मको उल्लेख छ। यसैगरी शुक्ल यजुर्वेदकै पारस्करगृह्यसूत्रमा शालाकर्म (वास्तुशान्ति) को विषयमा उल्लेख पाइन्छ। यसअन्तर्गत शालाकर्मनिरुपणअन्तर्गत स्तम्भ, पर्खाल आदिको निर्माण गर्ने विधान पाइन्छ। शुभ नक्षत्रहरूमा वैदिक मन्त्रहरूको प्रयोग गरी यी कर्म गर्ने विधान यी ग्रन्थहरूमा बताइएका छन्। गोभिल स्मृतिमा त जातिविशेषका लागि छुट्टाछुट्टै रंगको निर्माण सामग्री प्रयोगको विधान बताइएको पाइन्छ। उपवेदअन्तर्गत मानिने अर्थवेदमा स्थापत्यविद्याको उल्लेख छ। कतै स्थापत्य वेदलाई छुट्टै उपवेद पनि मानिएको छ। स्थापत्य वेदअन्तर्गत गृहनिर्माणका विभिन्न पक्षहरूको विषयमा बताइएको छ। यसैगरी प्रसिद्ध ६४ कलामध्ये वास्तुविद्या पनि एक हो।

    वेदमा पनि दिशाहरूका स्वामीको बारेमा बताएको छ जसअनुसार पूर्व– इन्द्र, दक्षिण–यम, पश्चिम–वरुण, उत्तर–सोम बताइएको छ। यसैगरी उर्ध्व दिशाका विष्णु (वा अग्नि), अधः दिशाका अनन्त देवता उल्लेख छ। वेदको मन्त्रसंहिता र ब्राह्मण ग्रन्थमा उपदिशाका स्वामीहरूका बारेमा उल्लेख छैन।

    वेदमा वास्तुका लागि महत्त्वपूर्ण मानिने दिशा स्वामीबारे चर्चा गरिएको पाइन्छ। वास्तुमा दिशाको र तिनका स्वामीले अर्थ राख्दछन् किनभने दिशाका स्वामी र तिनको प्रकृतिअनुसार नै कहाँ के बनाउने कहाँ के नबनाउने भन्ने विषयको निर्देश गरिन्छ। वेदमा पनि दिशाहरूका स्वामीको बारेमा बताएको छ जसअनुसार पूर्व– इन्द्र, दक्षिण–यम, पश्चिम–वरुण, उत्तर–सोम बताइएको छ। यसैगरी उर्ध्व दिशाका विष्णु (वा अग्नि), अधः दिशाका अनन्त देवता उल्लेख छ। वेदको मन्त्रसंहिता र ब्राह्मण ग्रन्थमा उपदिशाका स्वामीहरूका बारेमा उल्लेख छैन।

    पछि धर्मसूत्रहरूमा उपदिशाका स्वामी आग्नेय–अग्नि, नैऋत्य–निऋति, वायव्य–वायु, ऐशान–ईशान उल्लेख छ। यी दिशा र यिनका स्वामी र तिनको प्रकृतिअनुसार निर्माण कार्य गर्नुपर्छ। पौराणिक वा ज्योतिषीय ग्रन्थअनुसार आठ दिशाका अधिपतिदेवता क्रमश पूर्व–इन्द्र, आग्नेय–अग्नि, दक्षिण–यम, नैऋत्य–निऋति, पश्चिम–वरुण, वायव्य–वायु, उत्तर–कुवेर र ईशान–ईश हुन्। सूर्यादि नवग्रहको विचार गर्दा पूर्वका स्वामी सूर्य हुन् भने मंगल, शनि, बुध क्रमश दक्षिण, पश्चिम र उत्तरका स्वामी हुन्। यसैगरी शुक्र, राहु, चन्द्र र बृहस्पति आग्नेयादि उपदिशाका स्वामी हुन्। वेदमा भने दिशाका स्वामी ग्रहहरूको बारेमा उल्लेख नभएको बुझ्न सकिन्छ।

    पुराणहरूमा निर्माणसम्बन्धी प्रसंग र तिनका देवताहरूको उल्लेख पाइन्छ। पुराणहरूमा निर्माणसम्बन्धी देवता विश्वकर्माको विशेष चर्चा गरिएको पाइन्छ। विश्वकर्माले विभिन्न देवताका भवन बनाएको उल्लेख पाइन्छ। यसैगरी मय, मरुतजस्ता पात्रहरूबाट पनि गृह वा प्रासाद (दरवार) निर्माणको सन्दर्भमा आएका छन्। महाभारतमा मयले इन्द्रप्रस्थमा पाण्डवका लागि कलात्मक दरवार निर्माण गरेको बताइएको छ। यसैगरी स्कन्दपुराणको भनिएको स्वस्थानी व्रतकथामा समेत मयले निर्माण गरेको त्रिपुर नामको विशाल तीन भवनको वर्णन गरिएको छ।

    पुराणहरूमा वास्तुपुरुषका बारेमा उल्लेख भएसँगै विभिन्न समयमा लेखिएका ज्योतिष ग्रन्थहरूमा वास्तुको प्रक्रियाबारे उल्लेख छ। पौराणिक ग्रन्थहरूमा उल्लेख भएको अन्धकासुर वधको प्रसंगसँगै अहिले चलेको वास्तुको उत्पत्ति भएको हो। शिवको निधारबाट चुहिएको पसिनाबाट भयानक र विकराल रूप भएको पुरुष उत्पन्न भयो। शिवको वरदानसँगै विशाल शरीर पाएको त्यो प्राणीले स्वर्ग मर्त्य पाताल तीनै लोकलाई अवरुद्ध पार्दै पृथ्वीमा आएर झर्यो। यसबाट भयभीत भएका देवता तथा अन्य तत्वहरू मुख तल हुनेगरी उसको शरीरका विभिन्न भागमा थिच्न आइपुगे। यसरी विभिन्न देवता बास बसेकाले उसको नाम वास्तुपुरुष रह्यो। वास्तुपुरुषलाई थिचेर बस्ने देवताहरूको प्रकृतिअनुसार कुन स्थानमा के निर्माण गर्न हुने वा कुन स्थानमा के निर्माण गर्न नहुने भन्ने आधार बनाइयो। यसैगरी दिशा उपदिशाका स्वामी र तिनको प्रकृतिको आधारमा पनि वास्तुलाई विस्तृत बनाइयो।

    विक्रमको छैटौं शताब्दीका विद्वान् वराहमिहिरले आफ्नो बहुचर्चित एवं ज्योतिशास्त्रको प्रामाणिक ग्रन्थ वृहत्संहितामा वास्तुबारे विस्तृत रूपमा उल्लेख गरेका छन्। उनले घरनिर्माणका सन्दर्भमा आउने प्रक्रियाहरूलाई पहिलोपटक विस्तृत रूपमा उल्लेख गरेका छन्। घर, दरबार, मन्दिर निर्माणको साइत र तिनका लागि आवश्यक पर्ने निर्माणसामग्री अन्य भौतिक संरचना लगाययतका विषयहरू बृहत्संहिताले समेटेको छ। यसैगरी भवनका विभिन्न प्रकार र तिनमा हुनुपर्ने खम्बा, भित्ता, झ्यालढोका आदिको विषय पनि उल्लेख छ। पछि यसैलाई आधार मानेर अन्य विद्वान्हरूले वास्तुशास्त्रलाई विस्तृत बनाए।

    नन्दा (प्रतिपदा, षष्ठी र एकादशी) भद्रा (द्वितीया, सप्तमी र द्वादशी), जया (तृतीया, अष्टमी र त्रयोदशी) रिक्ता (चतुर्थी, नवमी र चतुर्दशी) र पूर्णा( पञ्चमी, दशमी र पूर्णिमा)। सामान्यतया नन्दाबाहेकका तिथि राम्रा मानिन्छन्। रिक्ता तिथिमा शुभकर्म गर्नुहुँदैन भन्ने मान्यता छ। यसैकारण विशेषगरी द्वितीया, पञ्चमी, षष्ठी, सप्तमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी र पूर्णिमालाई वैदिकहरूले गृहारम्भका लागि उपयुक्त तिथि मानेका छन्।

    वैदिक शास्त्रअन्तर्गतको वास्तुमा जग्गाको प्रकृति माटो, दिशा हेर्ने, व्यक्तिको राशि हेर्ने ग्रहस्थितिको विचार गर्ने लगायतका प्रक्रिया अपनाउने विधान पाइँदैन। वेदांग ज्योतिषअनुसार शुक्लपक्ष, शुभनक्षत्र र शुभ नक्षत्रका आधारमा निर्माण थाल्ने र निर्माण पूरा भएपछि शुभतिथि नक्षत्रमा घर सर्ने बताइएको छ। गृहारम्भ अर्थात् घर बनाउन सुरु गर्ने विषयमा गृह्यसूत्र मा उल्लेख छैन। पुण्याह अर्थात् शुभ रहेको जुनसुकै दिन (शुभ तिथि र नक्षत्र) मा गृहारम्भ गर्न सकिने उल्लेख छ यसैगरी उत्तरयाणमा मात्र नभई दक्षिणयन र कृष्णपक्षमा  पनि गृहारम्भ गर्न सकिने बताइएको छ। वैदिक परम्पराअनुसार गृहारम्भका लागि फाल्गुण, वैशाख, कार्तिक, मार्गशीर्ष र पौषलगायतका महिना शुभ बताइएका छन्। यसैगरी राम्रो तिथि र नक्षत्र पारेर गृहारम्भ गर्नु राम्रो हुने वेदांग ज्योतिषको भनाइ छ। 

    तिथिहरूको वर्गीकरण पाँच प्रकारले गरिएको छ। नन्दा (प्रतिपदा, षष्ठी र एकादशी) भद्रा (द्वितीया, सप्तमी र द्वादशी), जया (तृतीया, अष्टमी र त्रयोदशी) रिक्ता (चतुर्थी, नवमी र चतुर्दशी) र पूर्णा( पञ्चमी, दशमी र पूर्णिमा)। सामान्यतया नन्दाबाहेकका तिथि राम्रा मानिन्छन्। रिक्ता तिथिमा शुभकर्म गर्नुहुँदैन भन्ने मान्यता छ। यसैकारण विशेषगरी द्वितीया, पञ्चमी, षष्ठी, सप्तमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी र पूर्णिमालाई वैदिकहरूले गृहारम्भका लागि उपयुक्त तिथि मानेका छन्।

    अहिले चलेको ज्योतिषअनुसार रिक्ता तिथिमा समेत मुहूर्त्त राखेको देख्न सकिन्छ। यसैगरी रोहिणी, मृगशीर्ष, पुष्य, उत्तरफाल्गुणी, हस्ता, चित्रा, स्वाती, अनुराधा, उत्तरषाढा, धनिष्ठा, शतत्रिषा, उत्तरभाद्र र रेवती नक्षत्र उपयुक्त मानिएको छ। वेदांग ज्योतिषअनुसार गृहारम्भ सूर्योदयपछि अर्थात् बिहानीको समयमा गर्नु राम्रो हुन्छ। गृहप्रवेशको सन्दर्भमा पनि पारस्कर गृह्यसूत्रले जहिले गृहनिर्माण सम्पन्न हुन्छ त्यहिले सर्ने भन्ने उल्लेख गरेको छ।

    अहिलेको ज्योतिषशास्त्रअनुसार महिना तिथि वार र अन्य ग्रहहरूको स्थिति समेत अवलोकन गर्नुपर्ने हुन्छ। अहिले चलेको ज्योतिष र वास्तु परम्पराअनुसार गृहारम्भ गर्दा वास्तुचक्र वा कुम्भचक्र जराउने र गृहप्रवेश गर्दा कलशचक्र जुराउने विधान वैदिक परम्परामा नभएको बुझिन्छ। 

रामप्रसाद धिताल

धिताल ०७६ असारसम्म थाहा खबरमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]