|

काठमाडौं : हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। हनुमानढोकास्थित बसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए। रंगहरुको यो पर्वमा मात्रै रंगहरुसहित होली खेल्न पाइन्छ। अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको छ।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो। सचिव मानन्धरले मल्लकालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको पनि बताए। उनले होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रही आएको पनि बताए। होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका ध्वजापतकासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। यस वर्ष काठमाण्डौ लगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ। होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.