|

धनगढी : कञ्चनपुर पुनर्वास नगरपालिकाका सूर्य तामाङले रोजगारीको सिलसिलामा ८ वर्ष मलेसियामा बिताए। विदेश बसाइँको ८ वर्षपछि उनी जिउँदो लास सहर भएर घर पुगेका छन्। उनको उपचारमा अहिले समस्या भइरहेको छ।

‘सेती अञ्चल अस्पताल धनगढीमा चेकजाँच गर्दा फोक्सोमा पानी जमेको देखियो। त्यसको केही समयमै दुवै मिर्गौला फेल भएको थाहा पाएँ’ आँखा भरी आँसु पार्दै उनले भने। 

दवै मिर्गौला समस्या भएपछि उनी अहिले सेती अञ्चल अस्पतालको डायलासिस कक्षको शय्यामा छन्। हप्तामा दुई पटक डायलासिस सेवा लिइरहेका उनी हाल मिर्गौला किन्न आर्थिक क्षमता नभएको गुनासो गर्छन्।

धनगढीकी गोमादेवी बोहराको पीडा पनि उनको भन्दा फरक छैन। २०५२ सालमै श्रीमान् गुमाएकी बोहराले गत वर्ष आफ्ना दुवै मिर्गौला पनि गुमाइन्। एक वर्षसम्म सेती अञ्चल अस्पतालमा डायलासिस सेवा लिएकी उनी हाल काठमाडौंमा उपचाररत छन्। उनका छोराले भने, ‘मिर्गौला परिवर्तन गर्न ५० लाख रकम आवश्यक पर्छ भन्ने सुनेका छौँ। त्यत्रो रकम कहाँबाट ल्याउने।’

उनीहरू जस्ता कयौँ मिर्गौला पीडितहरू सेती अञ्चल अस्पतालको शय्यामा छटपटाइरहेका छन्। उनीहरू चिन्ता छ, ‘सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव हुँदा अस्पतालको शय्यामै प्राण जाने त होइन?’

सहजै उपचार नपाएपछि कैलालीका मिर्गौला पीडितहरू समस्या परेका छन्। धनगढीको सेती अञ्चल अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि फिस्टुला भर्न नेपालगन्ज वा काठमाडौंसम्म जानु पर्ने भएपछि उनीहरू समस्यामा परेका हुन्।

२०७३ कार्तिकबाट डायलासिस सेवा सुरु गरेको सेती अञ्चल अस्पतालमा १२५ जनाले सेवा लिएका छन्। गत जेठ महिनादेखी वीरंगना हेल्थ कियर सेन्टरले डायलासिस सञ्चालनको जिम्मा पाएपछि त्यहाँ ८८ जनाले सेवा लिएका छन्। जसमध्ये ४५ जनाले नियमित रूपमा निःशुल्क डायलासिस गराइरहेको वीरंगना हेल्थ कियर सेन्टर धनगढी प्रमुख अशोक मिश्रले बताए।

सेती अञ्चल अस्पतालबाट डायलासिस सेवा नियमित रूपमा लिइरहेका हरू निःशुल्क सेवा पाइरहेका हुन्। मिर्गौला पीडितले स्थानीय सरकारको सिफारिस लिँदा निःशुल्करूपमा डायलासिस सेवा प्रदान गर्न सकिने वीरंगना हेल्थ कियर सेन्टर धनगढी प्रमुख मिश्रले बताए।

वीरंगना हेल्थ कियरबाट सेवा लिइरहेका मध्ये १२ जनाको ज्यान गइसकेको क्लिनिकल इन्चार्ज पूजा ओझाले बताइन्। १० महिनामा १२ जनाको मृत्यु हुनुको कारण खानपान र औषधिको उचित व्यवस्था नुहँनु रहेको उनी बताउँछिन्। उनले भनिन् ‘हामी कहाँ आउँदा हामी सबै ख्याल र्छौं, घरमा त्यो अनुसारको स्यार नपाएर होला।’

पछिल्लो समय मिर्गौलासम्बन्धी समस्या बढिरहेको चिकित्सकहरू बताउँछन्। अस्तव्यस्त जीवनशैलीका कारण मिर्गौलासम्बन्धी रोगीहरू बढेका छन्’ सेती अञ्चल अस्पतालका जर्नल फिजिसियन डा. शेरबहादुर कमरले भने, ‘पत्थरी, मधुमेह, उच्च रक्तचाप लगायतका कारण पनि किट्नी फेल हुने गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.