'नेकपाका गतिविधि देख्दा दया लाग्छ'

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ‘बिद्रोहको कलाविहीन नाटक’ नदेखाउन सचेत गराएका छन्।

अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरूको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया पनि दिए। बिहीबार शहीद तथा वेपत्ता योद्धाहरूको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूभाग्यपूर्ण भन्दै चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढन पनि आग्रह गरे।

उनले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढन गम्भीर हुन पनि सचेत गराए। आफ्नै सचिवालयमा सचिव भएर काम गरेका चन्दले आफैँलाई पहिलो चरणमा मार्ने योजना बनाएको सुन्दा आफूलाई दया लागेर आएको अध्यक्ष दाहालको भनाई छ। अध्यक्ष दाहालले आफ्नो नक्कल गरेर कहीँ पनि नपुगिने पनि स्पष्ट पारे।

अध्यक्ष दाहालले सरकारले संविधान र कानुन अनुसार काम गर्ने उल्लेख गर्दै परिस्थितिको गम्भीर विश्लेषण गरेर अघि बढन पनि चन्द नेतृत्वको नेकपालाई पटक–पटक आग्रह गरे।

अध्यक्ष दाहालले सरकारले छिट्टै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको पुनर्गठन गर्न लागेको पनि जानकारी दिए। प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबबहादुर देउवा र आफूसँग मंगलबार दुवै आयोग पुनर्गठनको विषयमा छलफल गरेको त्यसलाई पुनर्गठन गरेर शान्ति प्रक्रिया बाँकी काम पूरा गर्ने सहमति गरिएको पनि बताए।

उनले शहीद तथा वेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दावी गरे। सत्तापक्ष र प्रतिपक्ष कसैले पनि यो परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदहरूको सम्मान गर्ने कुरामा विवाद गर्न नहुने पनि अध्यक्ष दाहालको भनाइ छ।

अध्यक्ष दाहालले शहीद तथा वेपत्ता परिवारका एक जना सदस्यलाई रोजगारी दिने विषयमा पनि प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.