|

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूसँग भएका पुराना ब्रुमरको मर्मत नगरेर १० करोड ५० लाख खर्चिएर नयाँ ब्रुमर किनेको छ। महानगरले बिग्रिएका ब्रुमर चार महिनादेखि पार्किङमा थन्क्याएर नयाँ पाँच वटा ब्रुमर खरिद गरेको हो।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ को निर्णयअनुसार ब्रुमर किन्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयबाट १८ करोड खर्च गरेर ब्रुमरका लागि रकम निकाशा भएको हो। तर, टेकुस्थित वातावरण व्यवस्था विभागमा पहेँलो रङको ब्रुमर पार्किङ गरिएर राखिएको छ। सडक सफा गरेर पार्किङ गरेको जस्तो लाग्ने भए पनि ४ महिनादेखि ब्रुमरले सरसफाइका लागि प्रयोग गरिएका छैनन्। 

थन्क्याएर राखिएको पुरानो ब्रुमर


सडक बढार्ने र धुलो तान्ने ब्रुमर महानगरले १० करोड ५० लाखमा किनेको काठमाडौं महानगरपालिका वातावरण विभागका हरिकृष्ण श्रेष्ठले बताए। 'नयाँ ब्रुमरले काठमाडौंको धुलोलाई पूरै निमिट्यान्न पार्छ, यो पुरानोभन्दा बढी क्षमताको छ,' उनले भने, 'यो प्रविधि नेपालमा पहिलोपटक ल्याइएको हो, यसले काठमाडौंको मुहार नै फेर्नेछ।'

स्थानीय निर्वाचनलगत्तै एक प्राविधिक टोलीले नयाँ ब्रुमरको अध्ययन गरेर आएको महानरगले बताए। नयाँ ब्रुमरले काठमाडौंमा भएको धुलोलाई पानीले भिजाएर एकसाथ सफा गर्ने महानगरको दाबी छ। मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा काठमाडौंमा धेरै धुलो भएको श्रेष्ठले सुनाए।

'काठमाडौंका अधिकांश क्षेत्र धुलाम्य छन्। घाम लाग्दा बुङ्बुङ्ती उडने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंवासीले सास्ती खेप्ने गरेका छन्' उनले भने। नयाँ ब्रुमर प्रयोगमा आएपछि वायुप्रदूषण पनि घट्ने उनले बताए। ब्रुमर खरिद काठमाडौं महागरपालिकाको गौरवको आयोजना रहेको समेत उनले बताए।

तर, चिनियाँ सरकारको सहयोगमा उपलब्ध भएका ब्रुमर काठमाडौं महानगरपालिकाको वातारण व्यवस्था विभागमा थन्याक्याएर राखेको छ। ती ब्रुमरहरू अहिलेसम्म २-४ पटक मात्र चलेको वातावरण व्यवस्था विभाग स्रोतले जनाएको छ। महानगरले भने पुराना ब्रुमर मर्मतका लागि सामग्री नपाएकाले नयाँ किन्न परेको बताएको छ। 'पुरानो ब्रुमर बिग्रेर बसेको छ। महानगरले मर्मत गर्ने प्रयास गर्दा पनि निर्माण गर्न नसकेको हो। ब्रुमरको पंखा बिग्रेर थन्केर बसेको छ' वातावरण व्यवस्था विभागका प्रमुख श्रेष्ठले भने। सामान खोज्दा पनि बजारमा नपाएको उनले बताए। पुरानो ब्रुमरले काठमाडौंका धुलो सफा नगर्ने उनको दाबी छ।

महानगरले किनेको नयाँ ब्रुमर


महानगरपालिकाको लागि भएको ब्रुमर मात्र पर्याप्त नहुने भएकोले नयाँ खरिद गर्नुपरेको श्रेष्ठले बताए। उनका अनुसार काठमाडौंलाई प्रदूषणमुक्त गर्नको लागि ल्याएको हो। चौतर्फी आलोचना हुन थालेपछि काठमाडौं महानगरले गम्भीरताका साथ लिएर नयाँ ब्रुमर खरिद गरेको उनको भनाइ छ। उनले नयाँ ब्रुमरले बिहानको समयमा सफा गर्ने बताए। '८-१० बजेको समयमा ब्रुमरले सडक सफा गर्नेछ,' उनले भने, 'यसको राम्रो पक्ष भने ब्रुमरले सफा गर्दा अन्य सवारी साधनलाई कुनै अवरोध गर्दैन।'

दरबारमार्ग, त्रिपुरेश्वर, सिनामंगल, नयाँ बानेश्वर, कालीमाटी, टंगाल क्षेत्रमा २ हप्तापछि नयाँ ब्रुमरले सफा गर्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनले नयाँ ब्रुमर भएकोले हाल चालकलाई ब्रुमर सञ्चालसम्बन्धी तालिम दिइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.