|

इलाम : विभागीय टिम एपिएफलाई हराउँदै क्यामरुनी क्लब दाफिन्स इलाममा जारी माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले ३–१ गोल अन्तरले हराएको हो।

दाफिन्सको जितमा पेटाङ्गाले २ गोल र मेजोभ्केले १ गोल गरे। खेलको १५ औँ मिनेटमा काउन्टरमा मोजभ्केले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। २१ औँ मिनेटमा पेटाङ्गाले अग्रता दोब्बर बनाए। एपिएफका सुदीप सिख्रकारलाई छलाउँदै पेटाङ्गाले गोल गरेका थिए। ३७ औँ मिनेटमा एपिएफले अग्रता कम पार्‍यो।

राजिव लोप्चनको प्रहार बारमा लागेर आएको रिवाउन्ड बललाई जाली चुमाउँदै हरि कार्कीले अग्रता कम पारे पनि जितका लागि पर्याप्त हुन सकेन। ५७ औँ मिनेटमा मेजोभ्केको कर्नर प्रहारलाई पेटाङ्गाले गोल गरेपछि एपिएफलाई ३–१ ले हराउँदै दाफिन्स सेमिफाइनल पुगेको हो।

खेलमा एपिएफले पाएको प्रहारहरूलाई सदुपयोग गर्न सकेन। आधा दर्जन प्रहारहरु क्यामरुनका गोलरक्षक प्रिसो जङ्गाले बचाएका थिए। क्यामरुनले समेत राम्रा अवसरहरू सदुपयोग गर्न सकेन। टिना टिनाले पेनाल्टी एरिया नजिकै पाएको अवसरलाई पोष्टको फ्रेममा प्रहार गर्न सकेनन्। मेजोभ्के र पेटाङ्गाले समेत पेनाल्टी एरियामा पाएको अवसरलाई प्रहार गर्न सकेनन्।

खेलपछि प्रतिक्रिया दिँदै एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले पहिलो विवादास्पद गोलका कारण पराजित भएको बताए। ‘गोल नै नभएको गलत निर्णय भएपछि गेम ट्रनिङ भयो। गोल लाइनमै थियो’ उनले भने ‘विपक्षी टिमको फिजिकल फिटनेस एडभान्टेज भयो। गेम त फिफटी–फिफटी नै हो।’ उनले विपक्षीले भन्दा बढी मौका पाए पनि पोष्टमा प्रहार हुन नसक्दा पराजित भएको बताए। 'हामीले पाएको ६ मध्ये ५ बटा मिस्टेक भयो। उनीहरुको ४ मध्ये ३ प्रहार सफल भएपछि हामी हार्‍यौँ’ उनले भने।

यता दाफिन्सका टिम मनेजेर आशिक थापा मगरले पाएका अवसरहरु खेलाडीहरुले पुर्ण सदुपयोग गरेको बताए। उनले खेल मैदानको कारण केही अपेक्षाअनुसार खेल्न सहज भएको बताए। गोललाइन टेक्नोलोजी नभएको कारण पहिलो गोल विवादमा आएको थापाले बताए।

दाफिन्सले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ। एपिएफ जारी सिजनमा दाफिन्ससँग तेश्रो पटक पराजित भएको हो। यसअघि २१ औँ तिलोत्तमा गोल्डकप र २१ औँ बूढासुव्वा गोल्डकपमा एपिएफ पराजित बनेको थियो।

बिहीबारको खेलको म्यान अफ दि म्याच दाफिन्सका पेटाङगा घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.