|

विराटनगर : नक्कली प्रहरी बनेर धम्की दिँदै व्यापारीहरूबाट रकम असुली गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सादा पोसाकमा खटिएको प्रहरी रहेको बताउँदै रकम असुल गर्ने विराटनगर ३ का २९ वर्षीय विजय दाहाललाई पक्राउ गरेको हो।

व्यापारीहरूबाट पैसा असुली गर्दैगर्दा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। दाहालले विराटनगर–३ भट्टाचोकस्थित श्रम कार्यालयको गेट अगाडि पाथीभरा फोटोकपी सेन्टर संचालन गरी बस्ने ४० वर्षीय भेषबहादुर पोखरलेसँग प्रहरी भएको भन्दै रकम असुली गर्ने क्रममा पक्राउ परेका हुन्।

‘जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हुँ। यहाँ निरीक्षण गर्न आएको भन्दै धाकधम्की दिई रकम अशुल गर्ने दाहाललाई पक्राउ गरिएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘नक्कली प्रहरी बनेर व्यापारीहरूबाट रकम असुली गरेको सूचनाको आधरमा दाहालालाई पक्राउ गरिएको हो।’ पक्राउ परेका दाहालले व्यापारीहरूले पैसा नदिए अख्यिारतमा उजुरी गरिदिने धम्की दिने गरेका थिए।

प्रहरीका अनुसार दाहालले पछिल्लो समय भट्टा चोक आसपास प्रहरीका नाममा पसलहरूबाट हप्ता भन्दै ५०० देखि १ हजार रुपैयाँसम्म उठाउँदै आएका थिए। हप्ता माग्दा नदिनेलाई धम्कीसमेत दिने गरेको प्रहरीले जनाएको छ। ‘पक्राउ परेका दाहाल यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न भएको देखिएको छ,’ डिएसपी श्रेष्ठले भने 'नक्कली प्रहरी बनेर धाकधम्की दिई रकम असुली गर्ने दाहाल कर्तब्य ज्यान मुद्दामा १० वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।'

डिएसपी श्रेष्ठका अनुसार दाहालले २०६३ कार्तिक ६ गते साविकको विराटनगर –६ का भोला भनिने योगन्द्र सिंह थापाको हत्या गरेको अभियोगमा १० वर्ष कैद सजाय भुक्तान गरेका थिए।

अदालतले तोकेको कैद सजाए भुक्तान गरेपछि ०७३ पुस ४ गते छुटेका दाहाल विराटनगरमा नै थिए। प्रहरीकै निगरानीमा रहेका दाहालले संगठनकै बद्नाम गरी नक्कली प्रहरी बनेर हप्ता असुली गर्ने गरेको सुइँको पाएको थिएन।

तर, बुधबार श्रम कार्यालय विराटनगर अगाडि प्रहरी हुँ भन्दै हप्ता असुली गरेको पाइएपछि पक्राउ गरिएको हो। पक्राउ परेका दाहललाई प्रहरीले मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम कारवाही गर्ने मोरङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.