|

भक्तपुर : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका छन्।

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौँ नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अंग दान गर्ने घोषणा गरेका हुन्।

यस्तै, सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले बिहीबार मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका हुन्। उनीहरूलाई मरणोपरान्त काम लाग्ने सबै अंग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरे।

उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पुर्‍याउने तयारी गरेको बताए। मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उनको भनाइ थियो। वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उनले नसर्ने रोग र अंग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।

स्वास्थ्य राज्यमन्त्री डा. यादवले मिर्गौला प्रत्यारोपीहरू अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताए। उनले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अंग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, डा राकेशकुमार वर्मालगायतले मानव अंग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए । ‘बाचुञ्जेल रक्तदान र मरेपछि अंग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उनहरूले बताए।

विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रूपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुती प्रस्तुत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.