|

हेटौँडा : मकवानपुर जिल्लामा बर्डफ्लु भेटिएको पुष्टि भएको छ।

फागुनको पहिलो हप्तामा मकवानपुर जिल्लामा करिब १५ हजार कुखुरा लगातार मरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ल्याब परीक्षणका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा नमूना पठाएको थियो। मन्त्रालयले नमूना परीक्षणपश्चात् बर्डफ्लु भएको पुष्टि गरेको हो। बर्डफ्लु भएको पुष्टि भएपछि बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको संयोजकत्वमा आकस्मिक बैठक बस्दै चार किल्ला तोकेर कुखुरा तथा अण्डा बेचबिखन तत्काल रोक्न निर्देशन दिएको छ।

‘मन्त्रालयबाट बर्डफ्लु भएको पुष्टि भएको पत्र प्राप्त हुनसाथ हामीले आकस्मिक बैठक बसेर कुखुरा तथा अण्डा विक्रीमा रोक लगाइसकेका छौँ। हामीले चार किल्लासमेत तोकिसकेका छौँ। हाम्रो प्राविधिक टोली फिल्डमा खटिसकेको छ’, प्रमुख जिल्ला अधिकारी तामाङले भने।

तामाङका अनुसार कमाने पूर्वमा हेटौँडा उपमहानगरपालिका–६ नम्बर र ७ नम्बर वडाको सिमाना, पश्चिम वनदेवी मन्दिर जानेबाट, उत्तरमा वनदेवी दुग्ध उत्पादक संस्था तथा दक्षिणमा अद्राक्ष मन्दिरलाई आधार मानेर चारकिल्ला तोकिएको छ। ‘मन्त्रालयबाट प्राप्त भएको पत्रअनुसार फागुन २८ गते पुष्टि भएको रहेछ। हामीले जानकारी प्राप्त गर्नेबित्तिकै बैठक बसेर आवश्यक कामको थालनी गरिसकेका छौँ’, उनले भने।

उनका अनुसार शुक्रबार बिहानबाट प्राविधिक टोली चार किल्ला शिलबन्दी गरिएको स्थानमा खटिनेछ। उनले किसानहरूलाई तत्काल यस विषयमा जानकारी गराउने काम भइसकेको र त्यसक्षेत्रका किसान तथा उपभोक्तालाई समेत सचेत बनाउने कार्य भइरहेको जानकारी दिए।

‘किसानले उचित क्षतिपूर्ति पाउनुपर्छ’

मकवानपुर जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु भएको पुष्टि भएपछि कुखुराको नष्ट गरेबापत् राज्यले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

बर्डफ्लु पुष्टि भएको विषयमा आफूहरुले सञ्चारमाध्यममार्फत् थाहा पाएको बताउँदै अधिकारीले उक्त खोरमा फागुन ४ गते कुखुरा मरेको र २५ दिनपछि प्रमाणित हुनु दुर्भाग्य भएको टिप्पणी गरे। ‘हामीलाई दिइएको ल्याब रिपार्ट अनुसार बर्डफ्लु होइन भनिएको थियो। बर्डफ्लु भएको भए ७२ घण्टाभित्रमा प्रमाणित हुने थियो। तर, एक महिनापछि प्रमाणित भयो । यसले किसानको लगानी खेर गयो’, उनले भने।

‘जहाँ कुखुरा मरेको हो। त्यो फर्मममा अहिले कुखुरा छैनन्। हाम्रो कुखुरा राज्यले मार्नु पर्दैन। हामी आफैँ मार्छौ। हामी मानव स्वास्थ्यसँग खेलवाड गर्दैनौँ। ल्याब रिपोर्ट ढिला आउँदा किसानहरूल गरेको लगानी खेर गयो। हामी पुनः एकपटक कुखुराको ल्याब परीक्षण गर्न आग्रह गर्नेछौँ। क्षतिपूर्ति र ल्याब परीक्षणको विषयमा हाम्रो माग सुनुवाइ नभएको खण्डमा हामी तीनहजार किसान आन्दोलनमा होमिने छौँ’, उनल भने ।

उनका अनुसार हाल प्रशासनले चार किल्ला तोकेको क्षेत्रमा करिब एकलाख भन्दा बढी लेयर्स कुखरा रहेको छ। करिब सात करोड रुपैयाँभन्दा बढी किसानको लागनी रहेको बताए। ‘जिल्लाको अन्य स्थानका किसानको कुखरा र अण्डा निर्वाधरुपमा विक्री वितरण हुन पाउनुपर्ने बताउँदै राज्यबाट प्राप्त हुने क्षतिपूर्तिको विषय टुंग्याउन जरुरी रहेको छ’, अधिकारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.