|

काठमाडौं : आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको सरोकार’ भन्ने राष्ट्रिय नारासहित नेपालमा पनि मनाइँदै छ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेको सम्झनामा हरेक वर्ष मार्च १५मा विश्वभर उपभोक्ता अधिकार दिवस मनाइन्छ। चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो।

सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन्। संयुक्त राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ। नेपालको संविधान २०७२ को धारा ४४ मा गुणस्तरीय वस्तु तथा सेवाको हक र गुणस्तरीय वस्तु तथा सेवाबाट क्षति पुग्ने व्यक्तिले क्षतिपूर्तिको दाबी गर्नसक्ने व्यवस्था गरिएको छ। संविधानमा उपभोक्ताको अधिकार सुनिश्चित गरिए पनि व्यावहारिक रूपमा हुन नसकेको सरोकारवालाले बताएका छन्। दिवसका अवसरमा थाहाकर्मी ईश्वरी बरालले  उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँसँग गरेको कुराकानी 

उपभोग्य वस्तुको अधिकारप्रति उपभोक्ता जानकार भएको पाउनुभएको छ?

शहरी उपभोक्ता सचेत छन्। सक्रिय छैनन्। उपभोक्ता सचेत भएर मात्रै पुग्दैन। सक्रिय हुनुपर्छ। उपभोक्ताले उपभोग्य वस्तुप्रति चासो नदेखाउँदा यसबारे बुझ्न\ बुझाउन समय लाग्ने देखिएको छ। उपभोक्ताले वस्तुको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, लेभल कर र वस्तुको विज्ञापन भ्रमपूर्ण हो कि यथार्थ हो भन्ने थाहा पाएर मात्रै प्रयोग गर्नुपर्छ। तर यस्ता विषयमा उपभोक्ता सक्रिय नहुनु देशकै लागि विडम्बना हो। नागरिक र राजनीतिक अधिकारको वरिपरीमात्रै देश घुमिरहेको छ। आर्थिक र नागरिकको संरक्षणको अवधारणा अझै अगाडि बढ्न सकेको छैन्। व्यापारी र विचौलियाले संगठन बिस्तार, नीतिगत हस्तक्षेप, उपभोक्ता लुट्ने र राज्यले नदेखेजस्तो गरेका कारण पनि समस्या भएको हो। राज्य नै व्यापारीको रूपमा देखिन थालेका कारण उपभोक्ता अधिकारबाट वञ्चित भएका छन्। 

बिचौलिया हाबी बन्दा उपभोक्ता मर्कामा परेका छन् भन्नुभयो, उपभोक्ताको अधिकार र संरक्षण गर्ने जिम्मा कस्को हो? 

व्यापारी र सरकारका कारण बिचौलियाले चलखेल गर्ने अवसर पाएका छन्। प्रक्रिया पूरा गर्नुपर्ने झञ्झटका कारण उद्योगी र व्यापारीले नै बिचौलिया जन्माइरहेका छन्। उद्योगी र व्यापारी नै विचौलियाको मर्कामा परेका छन्। यसलाई निरुत्साहित गर्ने दायित्व सरकारको हो। तर उल्टै संरक्षण दिएर राखेको छ। नागरिकको सकरात्मक परिवर्तन र राहतको लागि सरकार हुनुपर्नेमा बिचौलियालाई प्रश्रय दिएका कारण उपोभोक्ताहरु उपभोग्य वस्तुको अधिकारबाट वञ्चित भएका छन्। 

उपभोग गर्ने वस्तुमाथिको अधिकार प्राप्त र यसको संरक्षणका लागि उपभोक्ताको भूमिका कस्तो हुनुपर्छ?   

आफू ठगिनबाट जोगिनका लागि उपभोक्ता सक्रिय हुनुपर्छ। आफूलाई क्षति वा हानि पुग्यो भने तुरुन्तै उजुरी गर्नुपर्छ। सहेर बस्नु हुदैन। केन्द्रदेखि प्रत्येक जिल्ला मा उजुरी दिने स्थान छन्। जिल्लामा उपभोक्ता अदालत छन्।  प्रहरीमा पनि खबरदारी गर्न सकिन्छ। तर समस्या के भएको छ भने अधिकांश पढे लेखेका र बुझैकै उपभोक्ता समेत आफू ठगिए पनि उजुरी गर्न हिच्किचाउँछन्। ठगिएपछि कारवाहीको प्रक्रिया उजुरीको अभ्यासमा जाने उपभोक्ताको संख्या न्यून छ। कारबाही प्रक्रियामा जाने उपभोक्तालाई पनि प्रोत्साहन भन्दा निरुत्साहित गरेको देखिन्छ।  

तपाईँहरु उपभोक्ता अधिकारबारे अभियान चलाउनभन्दा पनि नागरिक र सरकारलाई मात्रै दोष थोपरिरहनु भएको नि!  

हाम्रो सक्रियताका कारण नै उपभोक्ताले उपभोग्य वस्तुको अधिकारबारे आवाज उठाउन सक्ने भएका छन्। उपभोक्ताको क्षेत्र फराकिलो छ। एकै दिनमा पूरै परिवर्तन गर्न असम्भव छ। प्रयास जारी छ। यस क्षेत्रको शुद्धीकरणमा विभिन्न संघ सस्था लागेका छन्। तर बिडम्वना के छ भने उपभोक्ताको अधिकारको रक्षाका लागि सरकार छैन। वेलाबखत हुने सरकारी बजार अनुगमन बजेट सक्ने नाटक मात्रै हो। उपभोक्तालाई अनुभव र हित हुने गरी अनुगमन भएको छ। 

उपभोक्ताका अधिकार रक्षा र प्राप्तीको उपाय के हो ? 

सरकार,उपभोक्ता र यस क्षेत्रसँग सरोकार राख्ने सवैको भूमिका महत्वपूर्ण रहन्छ। सुरक्षाको अधिकार, सूचित हुने अधिकार, छनोटको अधिकार, सुनुवाइको अधिकार, उपभोक्ता शिक्षाको अधिकार, क्षतिपूर्तिको अधिकार, आधारभूत आवश्यकता पहुँचको अधिकार, स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार र प्रतिनिधित्वको अधिकार  गरी उपभोक्ताका अधिकार हुन्। वस्तु तथा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्ताका अधिकारका लागि नागरिक सक्रिय हुनुपर्छ। राज्यले सहयोग गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.