बर्सेनि ३० करोडको तेजपत्ता उत्पादन गर्न सकिने

|

उदयपुरः पहाडी क्षेत्रका किसानहरु तेजपत्ताबाटै आम्दानी गर्न थालेका छन। जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता अर्थात् सिन्कौलीको पात नै पहाडी क्षेत्रका किसानको आम्दानीको स्रोत बनेको हो।

परम्परागत प्रविधिलाई छोडेर आधुनिक कृषि प्रणाली अपनाउन थालेसँगै पहाडी क्षेत्रका किसानले व्यावसायिक रूपमै तेजपत्ता खेतीसमेत सुरु गरेको बताउँछन्। प्रविधि परिवर्तन गर्न साथ न्यून आर्थिकस्तर भएका किसानले तेजपातबाटै आम्दामी गर्न थालेको बताउँछन्। कटारी नगरपालिका १३ का मानबहादुर सुनुवारले यस वर्ष मात्र ७० हजारको तेजपत्ता विक्री गरेको बताए। ‘पाखापखेरीमै नलगानी खेती हुने तेजपत्ताबाटै वार्षिक रुपमा झण्डै लाखौँ कमाउन सकिन्छ,’ उनले भने, ‘गाँउमै आएका सडकले तेजपत्ता विक्री गर्न सजिलो भएको छ।’

यसैगरी रौताका किसान जितुहर्क तामाङ पनि एक लाख ५० हजारभन्दा बढी आम्दानी गरेको बताउँछन्। उनले भने, ‘बिक्रीको चिन्ता छैन, कतिपय व्यवसायी घरमै आएर पाउलिँदै गरेको पातमै ठेक्‍का लिन्छन्।  यति त्यसो नभए सहकारीले लिने गर्दछ।’ तामाङले मात्र आफ्नो बारीमा लगाएको एक सय बोट तेजपातबाट ६-६ महिनामा झण्डै ढेढलाख रुपैयाँको आम्दानी लिने गरेको बताए। हुर्काउन अलिक समस्या पर्छ नत्र भने खासै झन्झट नहुने उनको भनाइ छ। पानी, गोडेमेलमा त्यति धेरै ध्यान दिई राख्नु नपर्ने भएकाले व्यवसाय निकै सहज भएको उनी बताउँछन।

जिल्लामै तेजपत्ताकै उत्पादन र मूल्यमा बुद्धी हुँदै गएको छ। यसबाट किसानले सोचेभन्दा बढी आम्दानी हात पार्न सफल भएको बताउँछन। उदयपुरको चुरे र महाभारत क्षेत्रमा तेजपत्ताको खेतीनै हुने गरेको छ। जिल्लाको बिकट क्षेत्र रौता, आँपटार, भलायडाँडा, पोखरी, भुट्टार, नामेटार, खाँबु, साउने, जाल्पा चिलाउने, तावाश्री, वर्रे, डुम्रे, मयाँखु, हर्देनी, सिरिसे, सोरुङ छविसे लगायतका क्षेत्रमा तेजपत्ता खेती हुँदै आएको छ। अघिल्लो बर्षसम्म प्रति केजी २५ रुपैयाँमा बिक्री हुँदै आएको तेजपात (सिन्कौली) यसबर्ष किसानले प्रतिकेजी ३५ रुपिँयामा बिक्री गर्ने गरेको आँपटारका किसान ललन मगर बताउँछन। ‘वर्षेनी मुल्य बढ्दै गएपछि किसानले व्यवसायिक रुपमा तेजपातका विरुवा रोप्न थालेका छन,’ उनि भन्छन्, ‘यी क्षेत्रमा जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने विश्वकै सवैभन्दा उत्तम ‘सिनामन तमला’ जातको तेजपातको समेत खेती बढी हुने गरेको छ।’

सामुदायिक वन उपभोत्ता महासंघका पुर्वअध्यक्ष भरतबहादुर थापाले जङ्गलमा प्राकृतीक रुपमा उम्रिएको तेजपातलाई व्यवसायिकरण गरी प्रत्येक किसानले आफ्नो बारीमा विरुवा रोप्न थालेको बताए। ‘यसअघि परम्परागत रुपमा संकलन गरी बिक्री गर्दै आएका किसानले अघिल्लो वर्षदेखि पातको गुणस्तर निर्धारण गरी व्यवस्थित रुपमा बिक्री गर्न थालेका छन,’ उनले भने, ‘पात सङ्कलन गर्न, हाँगा काट्न र बोक्रा निकाल्न नजान्दा गुणस्तरीय उत्पादन बजारसम्म पुर्‍याउन सकेका छैनन्।’

नगदेबालीको रुपमा तेजपातको एउटा हुर्किएको बिरुवाबाट एक बर्षमा दुईपटकसम्म आम्दानी लिन सकिन्छ। उदयपुरको पुर्वी क्षेत्रमा तेजपात संकलन केन्द्र मुर्कुचीका प्रमुखसमेत छ। खमारे मसला उत्पादक सहकारी संस्था गठन गरी आफ्नो क्षेत्रमा उत्पादिक तेजापात संस्थाले खरिद गरेर बजारसम्म पुर्‍याउने थापाले जानकारी दिए।

तेजपातको बिक्रीबाट आएको पैसाले किसानहरुले घर खर्च चलाउन, छोाराछोरी पढाउन, औषधि उपचार गर्नुकासाथै कतिपयले सुन र घरजग्गा जोडेको  किसानहरु बताउँछन। वनास्पतिको रुपमा दर्ज हुने तेजपत्ता बार्षिक करिव पाँचसय मेट्रिक टन उत्पादन हुने गरेको डिभिजन वन कार्यालय गाईघाटको तथ्यांक छ। डिभिजन वन कार्यालयका सुचना अधिकारी जागेश्वर शाहले उदयपुरमा बर्सेनि ३० करोडको तेजपत्ता उत्पादन गर्न सकिने बताए। ‘हामीले उदयपुरका किसान दाजुभाई बुझाउनै सकेका छैनौ, मसलाको रुपमा प्रयोग हुने तेजपत्ता उदयपुरको मुख्य आयस्रोत बन्न सक्छ।’ उनले भने, ‘चालु आर्थिक वर्षमा करडौंको बिक्री भएको छ।’

उदयपुरको तेजपात काठमाण्डौ, बिराटनगर र भारतका बिभिन्न क्षेत्रमा बिक्री हुने गरेको छ। तर भौगोलिक विकटता र ढुवानीको साधनहरुको अभावकाकारण समयमा बजारसम्म पुर्‍याउन नसक्दा कतिपय तेजपात सडेर खेरसमेत जाने गरेको उनको भनाई छ। तेजपातको बजार राम्रो भएकाले अधिकांस व्यवासायिहरु घरघरमा पुगेर लिने गरेका छन। ढुवानी कटाएर बजार मूल्यमै व्यापारीले घरमै खरिद गरेपछि अन्य बाली गर्दै आएका किसानसमेत यसमा आकर्षित हुन थालेका छन। बर्षभरी कामगर्दा पनि धान खेतीबाट खानलाउन नपुगेपछि विकट क्षेत्रका अधिकांस किसानहरु व्यवसायिक रुपमा तेजपात, सुन्तला, कागती, नासपाती लगायतका खेतीमा व्यस्त हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सरोजकान्त अधिकारी बताउँछन्।

तेजपातमा किसानहरु आकर्षित भएपछि रौतामाई गाउँपालिकाले पकेट क्षेत्रकै रुपमा अघि बढाउने गरी योजना अघि सारेको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। उनले तेजपातमा किसानलाई आकर्षित र आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाकाले कृषि कार्यक्रम मार्फत योजना अघि सारीएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.