|

काठमाडौं : लाइभ दोहोरी मनोरञ्जनात्मक एक खेल हो। जहाँ सवाल जवाफ हुने गर्छ। संगीतको संयोजन र शब्दको मिठासपन दोहोरी गीतको महत्वपूर्ण कडी हो। अचेल मेला महोत्सव सभा समारोहमा लाइभ दोहोरीको महत्व बढ्दै गएको छ। समयको परिवर्तनसँगै यसको विकास र विस्तार पनि फराकिलो बन्दै गएको छ। रेकर्डेड गीतका लय र स्थायीलाई लिएर सर्जकले नयाँ शब्दको प्रयोग गरेर दोहोरी गाउने गरेका छन्।

अचेल दोहोरीको नाममा भद्दा शब्द हालेर दोहोरी गाउने चलन पनि ह्वात्तै बढेको छ। जसले दोहोरी गीतको वास्तविक मर्ममाथि प्रहार भइरहेको छ। कतिपयले अचेल लाइभ दोहोरी सुन्न एकचोटी सोच्नुपर्ने अवस्था आएको पनि बताउँछन्। तर लाइभ दोहोरीप्रति मान्छेहरूको आकर्षण बढ्ने क्रम भने घटेको छैन। रेडियो, टेलिभिजनमा सुनिएका रेकर्डेड गीतहरू भन्दा लाइभमा गाइने दोहोरी गीतले दर्शकहरूलाई आकर्षित गराइरहेका छन्।

सवाल जवाफको जुहारीमा एकले गरेको सवाललाई अर्कोले फर्काउने जवाफको तारतम्यत हेर्दा के लाइभ दोहोरी गाउनुअघि नै विषयवस्तुको छनोट हुन्छ त? यस विषयमा गायक विष्णु खत्री भन्छन्, ' लाइभ दोहोरीमा कुनै स्क्रिप्ट हुदैँन। यो बौद्धिक खेल हो। यसका लागि अध्ययन, अभ्यास र शब्द छनोटको पूर्ण ज्ञान हुनुपर्छ।'  

कतिपयका लागि लाइभ दोहोरी स्क्रिप्टेड जस्तो पनि लाग्न सक्छ तर यो तत्कालै शब्द संयोजन गरेर गाइन्छ। लाइभ दोहोरी गाउनुको मजा जती छ। उस्तै चुनौती पनि रहेको लोकदोहोरी गायक खत्री बताउँछन्। लाइभ दोहोरीमा मुख्य चुनौतीको विषय भनेको शब्द छनोट हो। लाइभ दोहोरीले सर्जकलाई सिर्जनशील बनाउने तर्क राख्छन् उनी। भन्छन्, 'लाइभ दोहोरी गर्नु भनेको सर्जक कति सिर्जनशील, चेतनशील र अभ्यस्त छ भन्ने स्पष्ट हुन्छ।' लाइभ दोहोरी गाउनु भनेको प्राकृतिक रूपमा नै हुनुपर्ने एउटा कला रहेको उनी बताउँछन्। लाइभ दोहोरी सिर्जनाको छुट्टै पाटो रहेको उनको बुझाई छ।

लाइभ दोहोरी विशेष गरेर दोहोरी साँझहरूमा, विभिन्न मेला महोत्सवको आकर्षक विषयको रूपमा लिने गरिन्छ। यसले हरेक मान्छेलाई मनोरंजन त दिन्छ नै। सर्जकको आर्थोपार्जनमा पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। लाइभ दोहोरी गाउँदा विषयवस्तुको छनोट, सवाल जवाफ र शब्दको स्तरीयतालाई पनि महत्वपूर्ण मानिन्छ। धेरै मेला महोत्सव कार्यक्रममा दोहोरी गायनको अनुभव लिएका गायक मेक्सम खातीले लाइभ दोहोरी गाउनु एकदमै कठिन कार्य रहेको बताउँछन्। भन्छन्, ' लाइभ दोहोरी गाउनु मुडको कुरा हो। लाइभ दोहोरी गाउँदा सवालको जवाफ त दिनुपर्छ नै। त्योभन्दा महत्वपूर्ण विषय भनेको अनुप्रास र अन्त्यानुप्रास मिलाउनुपर्छ।'

कहिलेकाहीँ गाइरहँदा गाउनुपर्ने विषय हुदाँहुदैँ पनि शब्द संयोजनको कठिनाइले अफ्ट्यारो हुने उनी बताउँछन्। कहिलेकाहीँ आफूले पहिले गाएका लाइभ दोहोरी हेर्दा कसरी आए होलान् यस्ता शब्द भनेर आफैँलाई आश्चर्य लाग्ने खाती बताउँछन्। लाइभ दोहोरीबाट नै नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित बनेकी गायिका शान्तिश्री परियारले दोहोरी दिमागले खेल्ने खेल रहेको बताइन्। दोहोरीमा प्राविधिक विषय पनि रहेकाले सबैले गाउन नसक्ने तर्क छ उनको। अभ्यास मात्र दोहोरी गायनको पहिलो शर्त नभएको बताउँछिन् उनी।

दोहोरीको समय बढ्दै जाँदा आफूले उठाएको विषयवस्तु नै कतिपय अवस्थामा भुलिने गरिएको उनको अनुभव छ। आफूले समातेको सवालको विषयवस्तु, विषयवस्तुको भाव, भावलाई संयोजन गर्ने शब्दको तारताम्यलाई ध्यान दिन नसके दोहोरी गाउँछु भन्नु मुर्खता हो। अहिलेको अवस्थामा अत्यानुप्रास मिलाएपछि जस्तो सुकै शब्द थुपार्ने चलन पनि चलेको छ। दोहोरी विशुद्ध मनोरञ्जन मात्र होइन् यसले सुन्ने दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ। राम्रा विषयवस्तुलाई लिएर दोहोरी गाउँदा स्वयं सर्जकलाई हेर्ने आम दर्शकको दृष्टिकोण पनि सम्मानित हुन्छ।

लाइभ दोहोरी बौद्धिकताको एक प्राकृतिक शक्ति भएको गायक प्रकाश सपूतले बताउँछन्। लाइभ दोहोरीमा तत्कालै समय, परिस्थिति, ठाउँ परिवेश अनुसार शब्दको सिर्जना हुने गर्दछ। विशेष गरेर ठाउँ र माहोलले, मानसिकतामा ठूलो प्रभाव पार्ने उनले बताए। सवाल भइसकेपछि दिने जवाफ आफूसँग कहिलेकाहीँ तयार नभइसकेको अवस्था पनि सर्जकहरूमा समस्याको रूपमा आउन सक्छ। तर दोहोरी गाउने सर्जकमा एउटा शक्ति के हुन्छ भने अन्तिम अवस्थासम्म पनि कुनै दोहोरीको टुक्का मिलाउने क्षमता राखिदिन्छन्।

उनका अनुसार यसमा अभ्यास भन्दा पनि सिर्जनात्मकता मुख्य हो। लाइभ दोहोरी गाइरहँदा कहिलेकाहीँ नयाँ र आफूले नसोचेका गहन विषयवस्तुको निर्माण भइदिन्छ। तर एकपटक लाइभ दोहोरी गाइसकेपछि प्रविधिको जमानामा त्यही शब्दलाई रेकर्ड गर्छु भन्नु त्यति उपयुक्त हुँदैन। कहिलेकाहीँ लाइभ दोहोरीमा उत्कृष्ट गीत गाउने सर्जकले बसेर उत्कृष्ट गीत सिर्जना गर्न नसक्ने पनि हुन्छ। उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जकले लाइभ दोहोरी खेल्न नसक्ने अवस्था पनि रहेको छ। नेपालमा यस्ता केही लोकदोहोरी क्षेत्रका सर्जकहरू पनि छन् जसले दोहोरी खेल्न सक्दैनन्। यस्ता पनि उत्कृष्ट लाइभ दोहोरी सर्जकहरू छन् जसले राम्रा सिर्जना गर्न नसकेर व्यवसायिक रूपमा असफल भएका पनि छन्।

गीत सिर्जना गर्नु र लाइभ दोहोरी गाउनु छुट्टै विषय हुन्। गीत रेकर्डिङका लागि गरिने रचना अफ्ट्यारो छ कि लाइभ दोहोरी गाउन त? सपूत भन्छन्, 'म लाइभ दोहोरीबाट आएको मान्छे हुँ। विपक्षमाथि सवाल जवाफ गर्न एकदमै सहज हुन्छ। तर दोहोरी गीत बसेर लेख्न बस्दा सवाल जवाफ दुवै आफैले लेख्नुपर्ने हुनाले आफ्नो दोहोरीमा कतै बनावटी पो भयो कि भन्ने भान हुन्छ।'

सवाल जवाफ दुवै आफैले लेख्न बस्दा वनावटी जस्तो देखिन्छ। तर लाइभ दोहोरी गाउन बस्दा विपक्षसँग सवालजवाफ एकदमै प्राकृतिक र सुन्दर हुने सपूतको बुझाई र अनुभव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.