|

काठमाडौं : सरकारले बैंकमार्फत कृषकलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्। शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बैंकमार्फत् कृषकहरूको हातमा अनुदानको रकम वितरण गर्नका लागि ‘किसान कल्याण परियोजना’ संचालन गर्ने योजना पनि अघि सारे।

मन्त्री खनालले मलको अभाव हुन नदिन कृषकहरुलाई ‘सोयल हेल्थ कार्ड’ वितरण गर्न उपयुक्त हुने धारणा पनि समितिमा राखे। सो कार्डको आधारमा कृषकहरूलाई आवश्यक मलको व्यवस्था गर्ने मन्त्री खनालको भनाइ छ।

मन्त्री खनालले सरकारले रसायनिक मलको विकल्पमा जैविक मल उत्पादनमा जोड दिने नीति लिएको पनि बताए। बैठकमा समितिका सदस्यहरूले जैविक मलको उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए। समितिका सदस्य महेश बस्नेतले सहरको फोहोर व्यवस्थापन हुने गरी जैविक मल उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए। उनले जैविक खेती गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कारणबारे पनि समितिमा चर्चा गरेका थिए।

समितिका सदस्यहरूले मलको अभाव हुन नदिन सरकारलाई आवश्यक योजना बनाउन पनि सचेत गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.