पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजाआजा

|

जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा तथा दर्शन गरेका छन्। तराई मधेशका जिल्लाहरूको अवलोकन तथा भ्रमणको क्रममा रहेका पूर्वराजा शाहले शुक्रबार दिउँसो ०५:०५ मिनेटमा जानकी मन्दिर परिसरमा पुगी जानकी माता प्रतीमाको दर्शन तथा पूजापाठ गरेका हुन्।

साढे ४ बजे जानकी मन्दिरको उत्तरद्वारबाट भित्र प्रवेश गरेका पूर्वराजा शाह ४५ मिनेटको अवधिमा सर्वसाधारणसंग सामान्य भेटघाट तथा फूलमालाले लिएर घण्टौंदेखि लाइनमा बसेकाहरूसँग सामान्य भलाकुसारी गरेका थिए। जानकी मन्दिरमा पूर्वराजाको स्वागतमा बसेका उनका समर्थकहरुले ‘राजा आउँ देश बचाउ’ को नारा लगाएका थिए।

जनकपुरधाम केन्द्र बनाएर मधेशको धार्मिक यात्रामा रहेका पूर्वराजा शाहले जानकी मन्दिरमा पूजाअर्चना गर्दै छोटो प्रतिक्रिया दिँदै मुलुकमा शान्ति स्थापना आफनो इच्छा रहेको बताए। ‘सबै नेपाली जहाँ बसे पनि सुख शान्तिले बसोस्, यही हाम्रो कामना हो', उनले भने, अहिलेको समय देशमा प्रगति हुन शान्ति छैन । शान्ति चाहिन्छ त्यसैले सबैलाई सन्देश दिनुस्।’

सञ्चारकर्मीले मुलुक वास्तवमै अशान्त भइसकेको हो भन्ने प्रश्नको जवाफमा पूर्वराजा शाहले जनताको मनोबल र परिस्थति बुझाइ उनीहरूसँग नै सोध्न आग्रह गर्दै भने, ‘मधेशबारे हामी पहिलेदेखि नै तराई भन्दै छौँ, मधेश भन्दैनौँ हामी तराई भन्छौँ र त्यो नेपालकै एउटा भू-भाग हो।’

मन्दिरमा पूजाअर्चनापछि उनी विवाह मण्डप पनि पुगेका थिए। यसअघि  बिहीबार सर्लाहीको मलंगवामा दुर्गा मन्दिरमा पूजापाठ गरेका थिए। जनकपुरधामबाटै पूर्वराजा शाहको २ चैतमा उदयपुरको गाइघाट पुगेर राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ। गाइघाटबाट पुनः जनकपुरधाम फर्केर ३ चैतमा उनको सप्तरीको सखडा भगवतीमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

पूर्वराजा शाहका स्वकीय सचिव सागर तिम्लिसनाका अनुसार पूर्वराजा शाहले विभिन्न मठमन्दिर पुगेर पूजापाठ गर्नुका साथै आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.