बाँके : नेपाल–भारत सीमा नाका जयसपुर नजिक करोडौँ रुपैयाँ खर्चेर अधिग्रहण गरिएको जग्गा गौचरणमा परिणत भएको छ। अत्याधुनिक सुख्खा बन्दरगाह निर्माणका लागि अधिग्रहण भएको जग्गा भौतिक संरचना निर्माण नभएपछि गौचरणमा परिणत भएको हो। नेपाल र भारत सरकारले एक एक सय बिघा जग्गा अधिग्रहण गरेका छन्।
संरचना निर्माणमा ढिलाइ भएपछि स्थानीयबाट अधिग्रहण गरी तारबार गरिएको जमिन गौचरणमा परिणत भएको छ। सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले लिएको जमिनमा नेपाल–भारतका २५ गाउँका पशुचौपाया चरिचरणका लागि आउने गरेको पचपोखराका भुसैलाल यादवले बताए।
उक्त जग्गामा दैनिक एक हजारभन्दा बढी पशु चरिचरणका लागि आउने गरेको छ। यादवले भने, ‘पशुचौपाया चर्ने अन्यत्र ठाउँ छैन, आसपासका अधिकांश पशुचौपाया बन्दरगाहको जग्गामा चर्न आउँछन्।’
संरक्षण अभाव
पाँच वर्षअघि मुआब्जा दिएर सर्वसाधारणको जमिन सरकारले अधिग्रहण गरेको थियो। बन्दरगाहको जमिन र निर्माण भएका संरचना संरक्षणमा समेत बेवास्ता गरिएको छ। संरक्षण गर्ने निकाय नभएकाले काँडेतार ठाउँ–ठाउँमा चुँडिएको छ।
जग्गा संरक्षणका लागि तारबार, चौलिक्का चोकदेखि बन्दरगाहसम्मको दुई हजार ७०० मिटर लामो, ६० मिटर चौडा सडकको ट्रयाक खोल्ने र सडकको छेउमा विद्युतका लागि गाडिएका सिमेन्टका पोल पनि संरक्षणको अभावमा टुटुफुट भएका छन्।
शहरी विकास मन्त्रालय, डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर होमनाथ भुसालका अनुसार चौलिक्का चोकदेखि बन्दरगाहसम्मको सडकको ट्रयाक खोल्ने, सुरक्षाकर्मीका लागि दुईतले भवन र भान्सा निर्माणबाहेक अरु कुनै संरचना निर्माण हुन सकेको छैन।
अन्योलमा आयोजना
नेपाल र भारत सरकारले चासो नदिँदा सुख्खा बन्दरगाह निर्माणको काम अन्योलमा छ। पहिलो चरणमा आफ्नो तर्फबाट गर्नुपर्ने कार्य नेपालले पूरा गरिसकेको र भारतले पनि आफ्नोतर्फको जमिनमा पर्खाल लगाइसकेको छ। ‘नेपालको तर्फबाट गर्नुपर्ने काम सकेको लामो समय भइसक्यो,’ इन्जिनियर भुसालले भने, ‘अब भारतले संरचना निर्माण गर्नुपर्ने हो, तर अझैँ सुरु भएको छैन।’
अधिग्रहण गरिएको जग्गामा अत्याधुनिक भवन, सामान तौल गर्ने स्वचालित उपकरण, ठूला मालबाहक गाडी पार्किङ, सामान चेकजाँच गर्ने प्रविधिसहितको व्यवस्था गर्ने योजना छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।