भक्तपुर : केदारनाथको शिर भनिने डोलेश्वर महादेव क्षेत्रको गुरुयोजना कार्यान्वयनले गति लिन नसक्दा डोलेश्वरको मूल मन्दिरको निर्माण समेत लामो समयदेखि अलपत्र परेको छ। गुरुयोजना कार्यान्वयनमा आर्थिक अभाव भएपछि मूल मन्दिरको निर्माणले समेत गति लिन नसकेको हो।
मूल मन्दिरको हालसम्म पहिलो तल्लाको ढलानका साथै काठ छाउने कार्य भइरहेको छ। त्यसैगरी मन्दिर वरिपरी काठका ठामहरु राख्ने र छानामा टुँडाल राख्ने कार्य भइरहेको छ। मन्दिर निर्माण समितिका संयोजक एवं केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरि चालिसेले आर्थिक अभावकै कारण मन्दिरको निर्माण कार्य ढिलाइ भएको बताए। ‘मन्दिरका लागि १७ करोडको बजेट ‘इष्टिमेट गरेका थियौँ। छानोको लागि मात्र ६ करोड लाग्ने अनुमान गरिएको छ, उनले भने, ‘मन्दिरमा सुनको लेपन भएको छानो हुन्छ भने चाँदीको ढोका हुन्छ।’
पुरातत्व विभागसँग विवाद भएकाले पनि मन्दिर निर्माणमा ढिलाइ भएको उनले बताए। समितिले मुल मन्दिरको बनावटमा सिमेन्ट र रड प्रयोग गरेपछि पुरातत्वले अवरोध गरेको थियो। विभागले पुरातात्विक महत्त्वको सम्पदा निर्माणमा आधुनिक निर्माण सामाग्री प्रयोग गर्न नहुने भन्दै मन्दिर निर्माणमा रोक लगाएको थियो।
‘मन्दिर निर्माण कार्यमा पुरातत्वले जम्मा डेढ करोड बजेट दिन्छु भनेको थियो त्यो पुरानै अवस्थामा बनाउने सर्तमा तर हामीले बजेट पुग्दैन भनेपछि उनीहरुले डण्डी र सिमेन्ट प्रयोग गरी मन्दिर निर्माण गर्यो भनी बखेडा खडा गर्यो,’ चालिसेले भने, ‘हामीले निर्माण कार्य पूरा भएपछि बाहिरबाट सिमेन्ट देखिँदैन भन्यौँ। त्यसपछि विभागले बजेट दिन नसक्ने जानकारी गरायो। अहिले मन्दिर निर्माणमा रोकतोक छैन। बजेट चाहिँ नदिएको हो। त्यसै कारणले पनि काममा अलि ढिला सुस्ती भएको हो।’
करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको डोलेश्वरको गुरुयोजना पूरा गर्न ५६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। गुरुयोजनाअन्तर्गत हालसम्ममा ६४ शिवलिङ्ग, शौचालय, ढुङ्गेधारा, सामुदायिक भवन, बसाहा, विमला नदीमा दुवै तर्फ तटबन्ध तथा पर्खाल निर्माण कार्य सम्पन्न भएको छ। यस्तै मूलमन्दिर, चौवन्दी सत्तल, धर्मशाला (विशेष अतिथि गृह), मन्दिर प्राङ्गणमा शिवपाञ्चायन मन्दिर अन्तर्गतका चार वटा साना गणेश, सूर्यनारायण, विष्णुनारायण र देवीको मन्दिर निर्माण कार्य भइरहेको छ।
यज्ञशाला, समितिको कार्यालय, बृद्धाश्रम लगायतका भवन निर्माण कार्य बाँकी रहेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बालहरी चालिसेले जानकारी दिए। त्यस्तै गुरुयोजनाबाहेकको जगातीमा रहेको मूलगेट (महाद्वार) को निर्माण सम्पन्न भइसकेको छ।
अध्यक्ष चालिसेका अनुसार पर्यटन विभागले शौचालय, तत्कालीन जिविस कार्यालय भक्तपुरले सामुदायिक भवन, जलउत्पन्न प्रकोप डिभिजन कार्यालय भक्तपुर र बिशेष भौतिक विभाग काठमाडौंले सामुदायिक भवन तथा बिमला नदीमा दुवैतर्फ पर्खाल निर्माणको लागि सहयोग गरेका हो। त्यसैगरी सुर्यबिनायक नगरपालिकाको सहयोगमा निर्माण हुने मन्दिर परिसरमा प्रवेश गर्ने मूल ढोकाको शिवरात्रीको अवसरमा शिलान्यास भएको छ। साथै अन्य कार्यका लागि विभिन्न व्यक्ति, संघसंस्थाले सहयोग गर्दै आएका छन्।
गुरुयोजना कार्यान्वयनका लागि रकम संकलन गर्न समितिले डोलेश्वरमा श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह, श्रावणी मेलालगायत धार्मिक गतिविधि गर्दै आएको अध्यक्ष चालिसेले बताए। आर्थिक अभावकै कारण गुरुयोजना कार्यान्वयन भएको ३ वर्षमा जम्मा १० प्रतिशत मात्र काम भएको समितिका अध्यक्ष चालिसेले जानकारी दिए।
‘मन्दिर निर्माणको गुरुयोजना २०६८ सालमा तयार भए पनि निर्माण कार्य भने २०७२ सालबाट शुरु भएको हो,’ उनले भने, ‘अहिलेसम्म जम्मा दश प्रतिशत मात्र काम सम्पन्न भएको छ । योजना अनुसार १० वर्षभित्र गुरुयोजनाका सबै कार्य सम्पन्न गछौं।’
डोलेश्वरको मन्दिर कहिले निर्माण भएको ठोस प्रमाण नभेटिएपनि यो मन्दिर मल्लकालीन राजाहरूद्वारा जिर्णाेद्वार गरिएको शिलालेखमा उल्लेख छ। प्यागोडाशैलीको यो मन्दिरलाई वि.सं. १९९० साल माघ २ गते आएको महाभूकम्पले पूर्ण रूपमा क्षति पुर्याएपछि २००६ सालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो।
डोलेश्वरलाई केदारनाथको शिरभाग घोषणा गरेपछि यसको संरक्षण र विकासका निम्ती गठन गरिएको समितिले वि. सं. २०६८ सालमा गुरुयोजना निर्माण गरिएको हो। गुरुयोजना अनुसार मुल मन्दिरलाई पशुपतिनाथको मन्दिरको शैलीमा बनाउने तयारी भइरहँदा २०७२ सालको भूकम्पले डोलेश्वरको मन्दिरलाई पुर्णक्षती गरेपछि समितिले गुरुयोजना अनुसार नै मन्दिर निर्माण शुरु गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।