|

तनहुँ : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीले विद्युत काटेर बक्यौता उठाउन थालेको छ। विद्युत् महसुल नबुझाउने ६१६ ग्राहकको बिजुलीको लाइन काटेर बक्यौता उठाउन ताकेता गरेको हो। 

दुई महिनासम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटिएको प्राधिकरणले जनाएको छ। लाइन काटिएकामध्ये ५०३ ग्राहकले बक्यौता महसुल बुझाएका छन्। उनीहरुबाट एक करोड आठ लाख ६३ हजार ८६१ रुपैयाँ असुल गरिएको प्राधिकरणका प्रमुख शिवनारायण गोसलीले जानकारी दिए। ‘घरायसी, व्यापारीक र अन्य क्षेत्रको गरी एक करोड २० लाख र सडक बत्तीको ३० लाख गरेर उक्त रकम बक्यौता भएको हो,’ उनले भने ‘बक्यौता बुझाउने ग्राहकको विद्युतको लाइन जोडेर सेवा सुचारु समेत गराइसकेको छौँ। जिल्लाको डुम्रे, आँबुखैरेनी क्षेत्रमा बढी रकम बक्यौता रहेको गोसलीले बताए। 

विद्युत महसुल सङ्कलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ बमोजिम मिटर रिडिङ गरेको सात दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको दुई प्रतिशत छुट दिने व्यवस्था छ। आठ दिनदेखि २२औँ दिनभित्र महसुल बुझाएमा बिल अनुरूपको महसुल तिर्नुपर्छ। मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्छ। 

मिटर रिडिङ गरेको ३१औँ देखि ४०औँ दिनसम्म विद्युत महसुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१औँ दिनदेखि माथि २५ प्रतिशत दस्तुर लाग्नेछ। मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा विद्युत लाइन काट्न सकिने प्रावधान रहेको केन्द्रले जनाएको छ।

दमौली अस्पतालले तिर्‍यो बाँकी बक्यौता 

तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पतालले विद्युत महसुलको बक्यौता रकम बुझाएको छ। अस्पतालले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रलाई ३४ लाख ५६ हजार ४३५ रुपैयाँ बक्यौता रकम बुझाएको हो।

अस्पतालले तीन किस्तामा उक्त बक्यौता रकम प्राधिकरणलाई बुझाएको केन्द्रका प्रमुख शिवनारायण गोसलीले जानकारी दिए। ‘अस्पताल संवेदनशील क्षेत्र भएकोले विद्युत महसुल नबुझाए पनि लाइन काटिएको थिएन, पटक पटक ताकेता गरेपछि अस्पतालले बाँकी बक्यौता रकम सबै भुक्तानी गरिसकेको छ,’ गोसलीले भने। 

अस्पतालले पुस महिनामा १५ लाख ७२ हजार ४३५, फागुनमा पहिलो पटक ४ लाख ३६ हजार ९३५ र दोस्रो पटक १४ लाख ५७ हजार ६५ रुपैयाँ बक्यौता महसुल रकम बुझाएको छ। अस्पतालले सो रकम भुक्तानी गरेपछि विद्युत प्रयोग गरेवापतको महसुल भुक्तानी बाँकी नरहेको केन्द्रका प्रमुख गोसलीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.