|

डडेल्धुरा : धार्मिक तथा डोट्याली राज्यको इतिहास बोकेको कस्या टाकुरो क्षेत्रमा संरक्षण सम्वर्द्धनमा अमरगढी सरकार जुटेको छ। अमरगढी नगरपालिका–७ पोखरामाथि रहेको कस्या टाकुरो संरक्षणमा स्थानीय सरकार अमरगढी सरकार र स्थानीयवासी जुटेका हुन्।

नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएसँगै स्थानीय संरक्षण सम्वर्द्धनमा जुटेका छन्। डडेल्धुरा–बैतडी राजमार्गको पश्चिममा सडकसँगै जोडिएर रहेको कस्या टाकुरो धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको डाँडो हो।

डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, शिद्धागात, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रुपमा पनि कस्यालाई लिइने गर्छ। कस्या टाकुरो कस्या महिला सामुदायिक वन र लेगी समैजी सामुदायिक वनको मध्ये भागमा रहेको छ।

कस्या क्षेत्रमा पहिलोपटक अमरगढी नगरपालिकाले बजेट विनियोजन गरेसँगै प्रचारप्रसार तथा संरक्षण सम्वद्र्धमा स्थानीय पनि जुटेको वडाध्यक्ष खडक बोहराले बताए। पहिलो पटक अमरगढी नगरपालिकाले संरक्षण सम्वर्द्धनका लागि १ लाख ४५ हजार रकम विनियोजन गरेर निर्माण समिति गठन गरिएको छ।

'टाकुरोसम्म पुग्ने बाटो मात्रै बन्न सके स्थानीयहरुको ध्यान केन्द्रित गर्छ।’ उनले भने, ‘यसलगत्तै प्रदेश सरकारको १० लाख बराबरको रकममा कस्या टाकुरो पर्यटन विकासका लागि विस्तृत परियोजना डिपिआर तयार गर्नै बजेट विनियोजन भई सकेको जानकारी पाएको छु। यस आर्थिक् बर्षमा यो काम गर्न सके आगामी वर्ष अन्य बजेट ल्याउन सकिन्छ।’

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पहिलो पटक कस्या टाकुरोमा बजेट विनियोजन गरेसँगै बिहीबार कस्या टाकुरो पर्यटन पूर्वाधार निर्माण समिति पनि गठन गरिएको छ। नगपालिकाको बजेट र समिति गठनसँगै अब कस्या टाकुरोको विकासले गति लिने वडा अध्यक्ष बोहराले बताए।

समिति गठनसँगै कस्या टाकुरोमा पुगी प्रहरी चौकी पोखारले मुचुल्कासमेत उठाएको छ। वडा अध्यक्षलगायत निर्माण समितिका पदाधिकारी, स्थानियहरुको रहोवरमा कस्या क्षेत्रको भौगोलिक अवस्थासँगै सिमाना क्षेत्र र धार्मिक ऐतिहासिंक प्रमाण रहे नरहेको बारे मुचुल्का उठाइएको प्रहरी चौकी पोहराका इन्चार्ज प्रहरी सहायक निरिक्षक मोहनसिंह कैलाले बताए।

कस्या डाँडो समुद्री सतहदेखि ६ हजार ५ सय फिट भन्दा उचाईमा छ। सदरमुकाममा रहेको अमरगढी किल्लाको उचाइ समुद्री सतहदेखि ६ हजार ५ फिट मात्रै रहेको छ भने कस्या डाँडो माथिबाट अमरगढी किल्लालगायत अन्य थुप्रै स्थानको दृष्य देखिने भएकोले योभन्दा बढि नै उचाई भएको मान्न सकिन्छ। धार्मिक र राजाको इतिहास बोकेको कस्या टाकुरोबाट डडेल्धुराका अधिकांश स्थानहरु र भारतका विभिन्न स्थानहरुको मनोरम दृष्यवलोकन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.