उदयपुर : झट्ट हेर्दा बालक जस्तो। उमेर सोध्दा उत्तर आयो, २० वर्ष। काँधमा तेसो प्लाष्टिकको बोरा। शारीरिक हुलिया हेर्दा नेपालकै तराईबासी जस्तो ठ्यक्कै। पानीका बोतल, पुराना चप्पल, सिसा, फलामका टुक्र संकलनमा हात लम्किरहेका, उनी हुन्, भारतको विहार नजिकै बेहटा घर बताउने सद्दुलाल रौनियार।
केही दिनअघि ओखढुंगाको हर्कपुरबाजरमा पानीका बोतल, पुराना चप्पल, सिसा, फलामका टुक्र संकलन गरिरहेका उनी भन्छन्, ‘जीविकोपार्जन गर्न नेपाल आएर कवाडी संकलन गर्छु, मासिक रूपमा नेपाल रुपैयाँ ३० देखि ३१ हजार कमाउने गरेको छु, भारतीय रुपैयाँ १५/१६ हजार बचत गर्छु।’
बेहटामै विवाह गरेर नेपाल कमाउन आएका रौनियार धेरैले तेरो घर कहाँ भनेर साध्यो भने सप्तरी बताउँछन्। ‘म सानैमा भागेर जनकनपुर आएँ, त्यहाँबाट सिन्धुलीमा दुई वर्ष बसेँ, अनि नेपाली पनि बोल्न सिकेँ।’ उनले आमाका दाजुभाइ पनि हेटौँडामा कवाडी नै संकलन गर्ने काम गर्ने गरेको बताए। ‘एक जानले साथीले सिन्धुलीबाट घुर्मी र हर्कपुर बजारमा ल्यायो,’ उनले भने, ‘यता त खासै पाइएन, अब श्रीमती लिएर कवाडी संकलन गर्न काठमाडौं नै जान्छु।’
फेरि यता चार दिनअघि मात्र उदयपुरको जोगिदहमा दुई जना तराईमूलका जस्ता देखिने नेपाली साइकलनमा कपडाको पोको बोकेर गाँउ पस्दै थिए। नेपाली जस्ता देखिने उनीहरू पनि भारतीय नागरिक नै भएको बताउँछन्। विहारकै पटना घर बताउने हरिधर मण्डल र रामदास झा भन्छन्, ‘साइकलमा कपडा बेच्दै नेपालको उदयपुर आइपुगेका हौँ।’
झा र यादवले कुराकानीमा भने, ‘सिरहाबाट आएको भनेपछि नेपालको प्रहरीले पनि कहीँ पनि रोक्दैन, गाईघाटबाट पसेर जोगिह हुँदै सप्तरीको फत्तेपुरबाट उदयपुरकै रामपुर ठोक्सिला हुँदै सुनसरीबाट भारतपुन विहार नै फर्कन्छौँ।’ नेपाली बजारमा त्यही कपडा महँगो पर्ने इन्डियन कपडा उनीहरूले ल्याएको सस्तो पर्ने बताउँछन्। ‘गाँउमा पस्न सके ३० देखि ४० हजार मासिक रूपमा मुनाफा राख्छौँ,’ झाले भने, ‘यही व्यापार गरेरै जीविकापार्जन गरिरहेका छौँ।’
झा, रौनियार र मण्डलकोभन्दा अलि फरक कथा छ, भारतकै उत्तार प्रदेशमा पर्ने फिरोजावाद जिल्ला घर बताउने अजितकुमार यादवको। उनी नेपाली बजारमा आयुर्वेदको घुम्ती व्यापार गर्छन्। कालाकार शप आयुर्वेदिक डेन्द्रल नास्तक लेखिएको एक परिचयपत्र पनि घाँटीमा भिरेका छन्। हिजो बिहीबार मात्र गाईघाटको पिजीचोकमा भेटिएका उनी नेपालीमै भन्दै थिए, ‘आयो आयो, चाया पोतो, डन्डीफोर हटाउने, कपाल मुलायम बनाउने आयुर्वेदिक औषधि।’
एकैछिनमा झुरुम्म सर्वसाधारण भेला भए। यादवका साथीले तत्कालै कपाल मुलायम बनाउने सावुनले सर्वसाधरणको टाउको पनि धोएर देखाए। स–साना डल्ला सावुनहरू एकाएक बिक्री भए। ‘मासिक रूपमा कमाईको के कुरा गर्नु एकपटक एक सिजनमा नेपाल अउँदा दुई महिनाको अन्तरालमा दुईदेखि तीन लाखसम्म नेपाली रुपैयाँ कमाएर फर्किने गरेका छौँ,’ थाहा खबरको कुराकानीमा यादवले भने, ‘सिरहाको माडरमा मावली छ, त्यही सामान ल्याएर गोदाम गछौँ र नेपाली बजारमा बिक्री गर्न घुम्ती व्यापार गर्दै हिड्छौँ।’
झा, रौनियार, मण्डल र यादव जस्ता भारती नागरिकले नेपाली बजारलाई विभिन्न प्रकारले स्वरोजगार हुने माध्यम बनाउँदै आएका छन्। यादवको औषधि स्वास्थ्यको लागि उपयुक्त होस् वा नहोस् नेपाली बजारमा कसैले गुणस्तर जाँच गर्ने चलन छैन। बोल्नेको पिठो विक्छ, नबोल्नेको चामल बिक्दै भन्ने नेपाली उखानै शैलीमा भारतीय नागरिकले काम गरिरहेका छन्।
भारतीयहरू नेपाली बजारमा शैलुन, सिलाइकटाइ, घरेलु कामदार, उद्योगधन्दामा लोड अनुलोड, कालीगढ, इटाभट्ट लगायतका स–साना काममा मनग्य आम्दामी गरिरहेका छन्। त्यो जुन झा, मण्डल, यादव र रौनियारको भन्दा फरक शैलीमा। जुन नेपाली बजारका रोजगारीका क्षेत्र हुन। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि हिजो शुक्रबारदेखि बेरोजगार सूचीकरण सुरु गरेको छ।
सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने सरकारी लक्ष्य छ। तर, प्रधामन्त्री रोजगार कार्यक्रमले रौनियारको कामलाई श्रम मान्छ कि मान्दैन। प्रश्न उठ्ने गाईघाटकी पम्फा राई बताउँछिन्।
‘कवाडीमा पनि पैसा छ, नेपाली बजारका कवाडी भारतीयहरू आएर आम्दामीको स्रोत बनाइरहेका छन्,’ उनले भनिन्, ‘ती काममा नेपाल सरकारले नेपालीबाटै कसरी गराउने भन्ने चेतना छर्न जरुरी छ।’ श्रमलाई सम्मान गर्ने भावबाट हेर्दा तिनै रौनियार, झा, मण्डलको जस्तो काम गर्दा पनि ३० देखि ३५ हजार गाँउघरकै बजारमा हात पर्ने रोजगारीका क्षेत्रहरु छन। गाँउघरमै अलिक फरक रुपमा काम गर्दा खाँडी मुलुक जानु नपर्ने अवस्था प्रधानमन्त्री रोजगार कार्यक्रमले सिर्जना गर्छ गर्दैन भन्ने प्रश्न उब्जिएको राईको बुझाइ छ?
सरकारले बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ। गत फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए। सरकारले एक आर्थिक वर्षभित्र न्यूनतम् १०० दिनको रोजगारी प्रदान गर्न नसके रोजगारी प्राप्त गर्न नसकेको दिनको ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा दिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।