शेर्पा र काँकडभिट्टबीचको बिजेतासँग उपाधीका लागि भिड्ने

|

इलाम : विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै क्यामरुनी टोली दाफिन्स फेमेली क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। दाफिन्सले पुलिसलाई २० गोल अन्तरले पराजित गरेको हो।

खेलको १७ मिनेटमा टीना टीनाको गोलबाट दाफिन्सले सुरुवाती अग्रता लिएको थियो। पुलिसका अञ्जन राईले पेटाङ्गालाई ३० यार्ड वक्स नजिकै फाउल गरेपछि पाएको अवसर गोलमा परिणत भएको थियो। आन्द्रे एक्वेमको फ्रिकिक प्रहारलाई टिनाले हेडर गोल गरेका थिए। पहिलो हाफ १० मा सकिएको खेलको दोश्रो हाफमा दाफिन्सले पुन: गोल थप्यो। खेलको ७१ औँ मिनेटमा पुलिसका भरत शाहले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियाबाट आन्डा इसाइले अग्रता दोब्बर बनाए।

खेलको पहिलो हाफमा नेपाल पुलिसलाई दाफिन्सले दवावमा राखेको थियो। १५ औँ मिनेटमा टिनाको क्रसलाई डिएरियाभित्रबाट आन्डाले गरेको प्रहार आकासिएको थियो। पुलिसका निरकुमार राईले २३ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके। दोस्रो हाफमा सम्हालिएर खेलेको पुलिसले गोलका अवसरहरु सृजना गर्न सकेन। ४८ औँ मिनेटमा पुलिसका गोलरक्षक रोशन खडकाको हातबाट फुत्किएको बललाई दाफिन्सका खेलाडीले गोल गर्न सकेनन्। ५१ औँ मिनेटमा पुलिसका सन्तोष हेमरनको हेडरबल दाफिन्सका गोलरक्षक प्रिसो जाङगाले बचाएका थिए। इन्जुरी समयमा मनोज राईको पेनाल्टी एरियामा दिएको क्रसलाई सौजन याक्खाले प्रहार गर्न नसक्दा अग्रता कम गर्ने मौका पुलिसले गुमाएको थियो। खेलमा पुलिसका मानबहादुर परियार र तिर्थ राना मगरले पहेलो कार्ड पाएका थिए भने दाफिन्सका यान्निक ओवाना र सिलो नाङ्गाले समेत पहेलो कार्ड पाए। यसअघि एपिएफ विरुद्धको खेलमा पहेलो कार्ड पाएका सिलोले आगामी चैत्र ५ गते हुने फाइनल गुमाउनेछन्।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले रेफ्रीले पक्षपात निर्णय गरेको कारण पराजित भएको बताए। उनले ३० यार्ड बक्स नजिकै नभएको फाउल दिनु नै खेलको ट्रनिङ पोइन्ट भएको बताए। शारीरिक रूपमा बलिया खेलाडीविरुद्ध कडा प्रतिस्पर्धा भएको हो। रेफ्री श्याम दनुवारले बारम्बार गलत निर्णय दिँदा हामी पराजित भयौँउनले भने पेनाल्टी एरियामा निरकुमार राईले पाएको अवसर सदुपयोग हुन सकेको भए हामीले खेल जित्ने थियौँ।

यता दाफिन्सका टिम मेनेजर आशिक थापा मगरले पुलिसको टिम सेट भए पनि आफनो टिमले अपेक्षा अनुरुपको नतिजा निकालेको बताए। उनले इलाममा अघिल्लो खेलभन्दा पुलिसविरुद्ध दाफिन्सले सुधारिएको खेल देखाएको बताए। समयमा नै गोल निस्किएकोले पुलिसविरुद्ध पछिल्लो नतिजाभन्दा राम्रो जित निकालेको मगरले बताए। दोस्रो  सेमिफाइनल खेल हिमालयन शेर्पा र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विचको बिजेतासँग दाफिन्सले चैत्र ५ गते उपाधी भिडन्त गर्नेछ। फाइनल प्रवेश गरेको दाफिन्सले कम्तीमा ४ लाख रुपैयाँ सुरक्षित गरेको छ।

जारी सिजनमा पुलिस क्लब दाफिन्ससँग चौथो पटक पराजित बनेको हो। यसअघि २१ औ तिलोत्तमा गोल्डकपको फाइनलमा हारेको पुलिस १७ औँ आहाराराको क्वाटरफाइनल र २१ औँ बूढासुव्वाको सेमिफाइलनमा पराजित भएको थियो। माईभ्याली गोल्डकपसहित दाफिन्स नेपाली फुटबलमा सहभागी ८ मध्ये ४ प्रतियोगिताको फाइनल पुगेको छ। दाफिन्सले फाइनल पुगेको सबै प्रतियोगिताको उपाधी जितेको थियो।  खेल अवधी भर दाफिन्सले पुलिसको तुलनामा नेपाली समर्थकहरूको भरपुर साथ पाएको थियो। 

२०७१ सालबाट आयोजना शुरु गरिएको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो। प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.