|

कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ कटानका देवीदत्त कलौनी बिहानै मोटरसाइकलमा च्याउ बोकेर बजारमा बेच्दै हिँड्छन्। बजार मूल्य भएकाले च्याउ खेतीमा लागेको उनले बताए।

कलौनी गत वर्ष मात्रै कृषि विकास कार्यालय कञ्चनपुरबाट बाली संरक्षण अधिकृतबाट सेवानिवृत्त भएका हुन्। सेवानिवृत भएपछिको फुर्सदको समय सदुपयोग गर्न उनले च्याउ खेतीबाट राम्रो आम्दानी भएको उनको भनाइ छ।

कलौलीले घरमै प्लाष्टिको टनेल बनाइ च्याउ खेती गरेका छन्। टनेलमा १०५ पोका च्याउ राखेका उनले तीन महिनामै ३३ हजार ४५५ रुपैयाँ आम्दानी गरे। बजारमा च्याउ प्रतिकिलो २०० मा बिक्री हुने गरेको छ। 

कृषि विकास कार्यालयमा कार्यरत रहँदा उनी च्याउ खेती तालिम दिन्थे। उनले भने, ‘त्यही सीपको सदुपयोग गर्दै अहिले घरमै च्याउ उत्पादन गर्न थालेको छु।’ थोरै पुँजीमा धेरै आम्दानी गर्न सकिने व्यवसाय भएकाले च्याउ खेती आम्दानीको गतिलो माध्यम हुने उनको भनाइ छ। ‘बजारमा च्याउको माग धेरै छ,’ उनले भने, ‘माग धान्न उत्पादन बढाउन जरुरी छ।’ उनी बाह्रै महिना च्याउ उत्पादन गर्ने योजनामा छन्।

उनले सुनौलो र दुधिलो जातको च्याउ खेती गर्ने योजना सुनाए। यी दुई जातका च्याउको माग धेरै रहेको र भण्डारण गरेर राख्न सकिने भएकाले उक्त उक्त जातको च्याउ खेती गर्ने योजना उनको छ। 

ज्ञान बाँड्दै

उनले च्याउ खेतीसँगै यसबारे कृषि विज्ञानका विद्यार्थीलाई विद्यालयमै गएर सिकाउँदै समेत आएका छन्। च्याउ खेतीका लागि परालको छनौट, काटने, तातो पानीमा उमाल्ने, पोका बनाउने, च्याउको बीउ राख्ने, झुण्डाउने, पटक पटक पानी दिने लगातका कार्य विद्यार्थीलाई सिकाउँदै उनले बताए।

‘बैजनाथ माध्यमिक विद्यालयका आइएसी एजीका विद्यार्थीलाई च्याउ खेतीबारे सिकाउँदै छु’ उनले भने, ‘हाल तीन जना विद्यार्थीले घरमै च्याउ खेती गरी २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरेका छन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.