|

उदयपुर : जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङ्गलका विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आगलागी भएको छ। 

नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढेको जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले नियन्त्रण प्रयास सुरु गरिएको छ। 

सनुवा सामुदायिक वनको मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो गाउँक्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि जिल्ला वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयवासीसहित ५० जनाले दुई दिन लगाएर शनिबार दिउँसोसम्ममा डढेलो पूर्णरूपमा नियन्त्रण गरेको उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिए। 

यस्तै नगरपालिकाको त्रिवेणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापकरूपमा डढेलो बढ्दै गएपछि जिल्ला वन कार्यालय उदयपुरको अगुवाइमै शनिबार बिहानैदेखि दिनभरि डढेलो नियन्त्रणको प्रयास भइरहेको छ। सो क्षेत्रमा वनको कर्मचारीसहित स्थानीयवासी गरेर ४० जना डढेलो नियन्त्रणमा खटिरहेको पनि अधिकृत यादवले बताए। 

चुरे वनक्षेत्रमा डढेलो शुरु भएर दिनमा आउने हावाहुरीले झनै फैलिँदै गएपछि चुरे क्षेत्रका गाउँ सनुवा, जोगिदह, मोथ्याई, मोतिगडा, भुल्केसहितका झण्डै एक हजार ५०० बढी घरपरिवार रहेको गाउँ खतरामा परेपछि जिल्ला वन कार्यालयको अगुवाइमा डढेलो नियन्त्रण अभियान कार्यलाई तीव्रता दिइएको वन कार्यालयले बताएको छ। 

सुक्खा मौसम तथा हावाहुरीका कारण चुरे क्षेत्रमा घाँस, दाउरा तथा गोठाला जानेले नै सुर्तीबिँडी खाएर मनपरी फाल्दा डढेलो सल्केको हुनसक्ने सहायक जिल्ला वन अधिकृत यादवले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.