|

उदयपुर : निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गतको उदयपुरको चुहाडे खण्डमा विवाद हुँदा निर्माण कार्य अवरुद्ध भएको छ। लोकमार्गको पूर्वी खण्डमा पर्ने गाईघाटबाट कालोपत्र सुरु भएसँगै चुहाडे खण्डमा स्थानीय र ठेकेदार कम्पनीबीच विवाद भएपछि काम अवरुद्ध भएको हो।

सुनसरीको धरान–चतरा, सिन्धुली हुँदै हेटौँडा जोड्ने सडकको उदयपुर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ। निर्माण गरिरहेको ठेकेदार कम्पनीले सडक निर्माण गर्दा बीच नपारेको, सडक छेउमा परेका घर जग्गाको मुआब्जा नदिएको, खानेपानी पाइप क्षतविक्षत बनाएको भन्दै स्थानीयले निर्माण कार्य रोकेका त्रियुगा नगरपालिका–७ चुहाडेमा रहेको जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर दनुवारले बताए।

‘निर्माणाधीनको सडक सेन्टरबाट बनाउँदा विद्यालयको भवन भत्किँदैन,’ उनले भने, ‘सडकले विद्यालयको आधा भवन भत्किन्छ, हामीले अर्को भवन बनाइदिनु पर्छ भन्दा ठेकेदार मानेको छैन, त्यसैले निर्माण कार्य रोक्नु परेको हो।’

विद्यालयको भवन मात्र होइन, सडकले सर्वसाधरणका घर समेत भत्कने भएको छ। लोकमार्ग निर्माण गर्दा सडकको बीच भागबाट दुवैतिर बराबरी जग्गा कटिङ बनाउनु पर्ने स्थानीय दाक्षीकुमारी पुलामी मगरको माग छ। ‘हामीले सडकलाई पटक पटक आग्रह गरेका छौँ,’ उनले भनिन्, ‘मेरो मात्र जग्गा काट्ने भनेपछि निर्माण कार्य रोक्न गाउँले सबै लागेका हौँ।’

अर्का स्थानीय कृष्णकुमार राउतले सडक कार्यालयले ठेकेदारलाई जथाभावी रुपमा नक्सांकन गरेर निर्माण लगाउँदा रोक्नु परेको गुनासो गरे। ‘कतै खानेपानीको पाइप क्षतविक्षत भएका छन्, त्यो बनाइदिएको छैन, सर्वसाधरणका घर भत्काइदिएको छ,’ उनले भने, ‘अनि विद्यालयको भवन भत्काउने तयारी छ, अर्को भवन बनादिने कुरा छैन, अनि रोकेका हौँ।’

धरान–चतरा–सिन्धुली–हेटौडा सडक आयोजना पूर्वी खण्डको कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत पुगेर निवेदन समेत दिँदा पनि ठेकेदारले नटेरेपछि काम रोक्नु परेको स्थानीय देवराज गिरीको भनाइ छ। उनले भने, ‘हामीले प्रशासन, सडक कार्यालयमा पुगेर निवेदन समेत दियौँ तर नमानेपछि रोकेका हौँ।’

ठेकेदार कम्पनी जेडआइसी, शर्मा लामा जेभी कन्स्ट्रक्सनले मापदण्ड विपरीत काम गरेको सर्वसाधरणको दाबी छ। तर, यता ठेकेदार कम्पनीका प्रतिनिधि छिरिङ शेर्पाले सडक कार्यालयले दिएको आदेशअनुसार काम गरेको बताए। ‘सडक कार्यालयले विवादित क्षेत्रको समस्या सामधान गरिदिनु पर्ने हो,’ उनले भने, ‘पटक–पटक आग्रह गर्दा पनि सडक कार्यालयले बेवास्था गर्दै आएको छ, विवादले काम रोकिएको छ।’

आयोजनाको पूर्वी खण्डको कार्यालयका प्रमुख ललितजन खनालले केही दिनमै विवाद समाधन हुने बताए। ‘विद्यालयबारे सडक कार्यालय पनि गम्भीर छ, मुआब्जाका लागि सरकारले जस्तो मापदण्ड बनाएको छ, त्यस्तै हुन्छ, सडक निर्माणमा पहिला गरिएको नक्साकै आधारमा हुन्छ, त्यसरीनै गरिन्छ,’ उनले भने, ‘त्यहाँका अगुवा, जनप्रतिनिधिहरुलाई राखेर विवाद सामधान गर्छौं।’ 

विवाद भएपछि अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जिल्ला प्रशासन कार्यालय, धरान चतरा सिन्धुली हेटौडा सडक आयोजना पूर्वी खण्डको कार्यालय, ठेकेदार कम्पनी, चुहाडे क्षेत्रका स्थानीयले छलफलबाट विवाद मिलाउनु पर्ने बताए। ‘विद्यालयको भवन अर्को बनाउनु पर्ने छ,’ उनले भने, ‘मुआब्जा र सडकको मापदण्डबारे बुझ्नु पर्नेछ, खानेपानीका पाइपबारे विकल्प खोज्दै अवरुद्ध भएको निर्माण कार्य सुरु गर्ने छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.