|

जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महामुर्ख खोजिदै छ, जो सबैको सामुन्ने बिना कुनै संकोच भन्न र स्वीकार र्न सकोस् कि म ‘महामुर्ख’ हुँ। जनकपुरधाममा हुने एउटा यस्तो सम्मेलन, जहाँ सबैभन्दा ठूलो मुर्ख (महामुर्ख)को उपाधि लिन तछाड-मछाड हुन्छ। त्यो महामुर्खको उपाधि लिन सामान्य व्यक्तिमात्र नभइ समाजमा ‘विद्वान’ कहलिएका राजनीतिकज्ञ, व्यक्तिहरू, बुद्धिजीविहरू, लेखक, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिक दलका नेताहरूबीच प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा उत्रिनेमध्ये एकजनाले ‘महामुर्ख’को उपाधि पाउँछन् भने अन्य प्रतिस्पर्धीहरु विभिन्न शीर्षकमा ‘मुर्ख’को उपाधि पाउँछन्।

जनकपुरको कलासंस्कृतिमा काम गर्दै आएको मिथिला नाटयकला परिषद जनकपुरद्वारा हरेक वर्ष फागु पूर्णिमाको अवसर पारेर होली विशेष २ दिने कार्यक्रम आयोजन गरिन्छ। एक दिन होली (होरी) महोत्सव र अर्को दिन महामुर्ख सम्मेलनको कार्यक्रम आयोजन गरेर महामुर्खको उपाधि दिने गरिन्छ।

उक्त सम्मेलनमा मैथिली भाषा क्षेत्रका साहित्यकार तथा कवि र लेखकहरूद्वारा विभिन्न हास्य कविता तथा गजलहरूको वाचन हुन्छ। कविहरूले कवितामार्फत समसामयिक विषय, राजनीतिक अवस्था तथा विभिन्न किसिमका समस्याहरूप्रति व्यंग्य गर्छन्। मिथिलामा होलीपर्व मनाउँदा यसरी नै होलीका गीत तथा गजलहरु गाएर व्यंग्य गर्ने यो ठूलो अवसर हुन्छ। यो अवसरमा गरिने कुरालाई सामान्य (व्यंग)का रूपमा लिइने भएकाले पनि कविहरूले मौकाको सदुपयोग गर्न छुटाउँदैनन्।

होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको सचिव सन्दिप साह बताउँछन्।

मिथिलाञ्चलमा जोगिरा..(फागु गीत) सुनिन लगभग छोडिएको बेला मिथिला नाट्य कला परिषद् (मिनाप) यो पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मलेनको आयोजना गर्दै आएको हो। मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन यस वर्ष चैत ५ र ६ गते गरिने भएको महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए।

को–का भए ‘महामुर्ख’

२०६१ सालबाट हुँदै आएको महामुर्ख सम्मेलनमा पहिलो महामुर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा सदभावना नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपाका नेता रामचन्द्र झा भएको थिए।

त्यसैगरी, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७० मा तमलोपाका पूर्वसभासद डा. विजयकुमार सिंह र २०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतो लाई प्रदान गरिएको थियो।

यसैगरी, २०७२ सालमा स्मशान घाट (स्वर्गद्वारी) बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामुर्खको उपाधी प्रदान गरिएको थियो भने २०७३ सालमा मधेश आन्दोलनको क्रममा कार्यक्रम स्थगित गरिएको थियो। गत वर्ष अर्थात २०७४ सालमा महामुर्खको उपाधी राष्ट्रियसभा सदस्य एवं राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाललाई प्रदान गरिएको थियो।

सम्मेलनको इतिहास

महामुर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाई पाएको छ। तर, यसको प्रारम्भ नेपालको विरगंजबाट भएको हो। मैथिली साहित्य परिषद विरगंज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए।

यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषदका पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा भन्छन्, ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो। राजनीतिक रूपमा परिवर्तनको समय थियो। यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो कन्सेप्ट आएको थियो। समाजमा रहेको विकृति विसंगतिलाई समाप्त गर्न ब्यंग्यले निकै ठूलो भूमिका खेल्ने गरेको त्यहीबेला देखि सुरुवात गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.