|

विराटनगर : विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा श्रीलंकाविरुद्ध भारतले गोल वर्षा गरेको छ। पहिलो हाफ सकिँदा श्रीलंकाको शून्यका विरुद्ध भारतले ४ गोल गरेको छ भने दोस्रो हाफको सुरुवातमै भारतले अर्को गोल थप गरेको छ।

भारतका लागि ड्याग्मी ग्रेस, सन्ध्या रंगनाथ, इन्दुमथी काथिरेसान र संगिता बास्फोरेले एक¬एक गोल गरिन्। यस्तै दोस्रो हाफको सुरुवातमा भारतकी रतनबाला देवी नोंगमाइथेनले अर्को गोल गरिन्। खेलमा श्रीलंकालाई भारतले निरन्तर दबाबमा राखेको छ। भारतीय गोलकिपर सामू श्रीलंकाले गोल प्रहार गर्न सकेको छैन।

समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए। भारतले माल्दिभ्सलाई ६-० ले हराएको थियो। श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो। समूह बीको उपविजेता टोलीले सेमिफाईनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ। विजेता टोलीले फाईनल प्रवेशका लागि बंगलादेशसंग खेल्नुपर्नेछ। समूह बीमा भारत र श्रीलंकाको समान ३ अंक छ । दुवै खेलमा पराजित माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेलमा भारत विजेता बने नेपालले सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलको पहिलो खेल बुधबार बिहान ११ बजे र दोस्रो खेल सोही दिन ३ बजे हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.