|

पोखरा : तोकिएको समयभन्दा छ महिनाअघि नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले दाबी गरेको छ। २०१७ को नोभेम्बरदेखि काम सुरु गरेको चिनियाँ कम्पनीले हालसम्म ३० प्रतिशत काम पूरा गरेको जनाएको छ।

२५ दिनमा रनवे ‘कम्प्लिट

मुख्य धावनमार्गको काम अबको २५ दिनभित्र निर्माण सम्पन्न हुने प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले जानकारी दिए।  ‘अबको २५ दिनभित्र रनवे पूर्ण रूपमा तयार हुन्छ,’ उनले भेन, ‘अहिलेसम्म एप्रोन पार्किङ, आठवटा ढलनिकास निर्माण नै सकियो। रनवे र ट्याक्सीको २ चरण ढलानको काम सकिएको छ। अब ३४ सेन्टिमिटिरको एक चरणको ढलान बाँकी छ। यो पनि २५ दिनभित्रै सकिन्छ।’पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग २५ सय मिटर लामो छ।

२०२० मै निर्माण सम्पन्न

२०२० भित्रै काम सक्ने गरी काम भइरहेको मुनकर्मीको भनाई छ। २०२१ को जुलाइ १० मा निर्माण सक्ने गरी कम्पनीले नेपाल सरकारसँग सम्झौता गरेको छ। चिनियाँ र नेपाली गरेर चार सय ५० जनाभन्दा धेरै मजदुर विमानस्थल निर्माणमा खटिएका छन्।

त्यस्तै टर्मिनल भवनको पनि फाउण्डेशन तयार भइसकेको छ। विमानस्थलमा निर्माण भइरहेको टर्मिनल भवन १४ हजार वर्गमिटरको बन्नेछ। आठ हजार बर्गमिटर अन्तर्राष्ट्रिय र छ हजार बर्गमिटर आन्तरिक उडानका लागि प्रयोग हुने बताइएको छ। टर्मिनल भवनको गत भदौ छ गते तत्कालिन  पर्यटन मन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेका थिए।

२०२१ जुलाईदेखि अन्तर्राष्ट्रिय उडान पोखरा विमानस्थलबाट पनि गर्ने योजनामा नागरिक उड्डयन प्राधिकरण रहेको छ। २२ अर्ब रुपैयाँको लागतमा बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उडड्यन संस्था आइकाओको मापदण्ड अनुरुपको हुनेछ। नेपाल सरकारले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋणमा लिएर बनाउन सुरु गरेको हो। १८० सिट क्षमताको जहाज र अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन्।

२०१९ भित्र ६० प्रतिशत काम सकिन्छ

त्यस्तै, मुनकर्मीले विमानस्थल निर्माणमा ७० प्रतिशत सिभिलको काम हुने र बाँकी ३० प्रतिशत इक्यूपमेन्टको हुने बताउँदै भने, ‘अहिलेसम्म सिभिलको ३० प्रतिशत काम सकिएको छ। बाँकी ४० प्रतिशत पनि हामी द्रुत गतिमा गरिरहेका छौँ। यो सकिएको छ महिनामै बाँकी ३० प्रतिशत काम सम्पन्न हुन्छ।’

त्यस्तै अहिले सिभिलको कामको प्रगति मासिक ३ प्रतिशतको दरले बृद्धि भएको भन्दै असार मसान्तसम्म जम्मा ३० प्रतिशतको प्रगतीलाई बढाएर ४० पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ।

ब्लास्टिङको तयारी तीव्र

विमानस्थलको क्षेत्रमा कडा प्रकृतिको माटो रहेकोले बम ब्लास्टिङ गर्ने तयारी थालिएको छ। ‘यहाँको माटो असाध्यै कडा प्रकृतिको छ,’ मुनकर्मीले भने, ‘अहिले ब्रोकरले डोजरले हान्दा असाध्यै ढिलो भएका कारण बिस्फोट गर्न लागिएको छ। नेपाल सरकारसँगको समन्वयमा गृह र रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले भारतबाट बिस्फोटक पदार्थ ल्याउँदै छ।’

ब्रोकर, डोजरले तीन महिनामा हुने काम बिस्फोट गरेपछि एक महिनामै हुने बताइएको छ। यसका लागि बम लगायतका सामग्री ल्याउन नौँ महिनाको प्रक्रिया बल्ल पूरा भएको मुनाकर्मीको भनाई छ। विद्युतको प्रयोग नगरी बिस्फोट गर्न लागिएको छ। विद्युतीय बम बिस्फोट गर्दा नजिकका जमिनहरूमा असर पर्ने, वरिपरिको वातावरणमा पनि असर गर्ने भन्दै मुनकर्मीले एकपछि अर्को बिस्फोटले अन्यत्र असर नगरोस भनी ननइलेक्ट्रिकल बम ब्लास्ट गर्न लागिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.