|

काठमाडौं : कवि तथा साहित्यकार, प्रथम मेची-महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने भएका छन्। उनले यही चैत्र २३ गतेबाट उक्त आरोहण शुरु हुने जानकारी गराएका हुन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आरोहीसहित प्रथम साहित्यिक सगरमाथा आरोहण समितिले पत्रकार सम्मेलन गरेर आरोहणको बारेमा जानकारी गराएको हो। सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रूपमा  विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको आयोजकको दाबी छ।

आरोहणको बारेमा जानकारी गराउँदै साहित्यकार तथा धावक ‘विकल्प’ले आफू साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्ने दाबी गरे। सम्पूर्ण नेपाली साहित्यकारहरूको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउने पनि उनले घोषणा गरे।

सर्वोच्व शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा-प्रतिष्ठानको लोगो, गौतम बुद्धको मूर्ति, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको उनले जनाए।

आरोहणकालागि आफु मानसिक तथा शारिरीक दुवै रुपमा तयार रहेको बताउँदै उनले आरोहणमा आर्थिक सहयोग गर्ने कम्पनीको ‘कर्पोरेट– लोगो’लाई पनि सर्वोच्च शिखरमा पुर्‍याउने बताए। मेची-महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मूर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्वारा हस्ताक्षर गरेको रामायण तथा विभिन्न ३० जति श्रष्टाहरूको फोटो पनि सगरमाथामा प्रदर्शन गर्ने आफ्नो योजना रहेको उनले सुनाए।

उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए। उनले भने, ‘समुन्द्र भएका देशहरू पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन्, मरुभूमि भएका देशहरू बालुवा र मरुभूमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने?’ आफूद्वारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकवि देवकोटाको मुना-मदन पनि सँगै चुचुरोमा लैजाने उनले बताए।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सभासद रामहरि सुवेदीले नेपालमै नयाँ किर्तीमानी राख्न साहित्यको क्षेत्रमा उक्त कार्य हुने विश्वास दिलाए। उनले सगरमाथामा नेपाली साहित्यको क्षेत्रबाट पहिलो किर्तिमान रहन गैरहेकोमा शुभकामना दिँदै साहित्यको विकासमा परिश्रम गरिरहेका साहित्यकारको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा बोल्दै कवि तथा समालोचक तर्कना शर्माले साहित्यसँगै आफ्‍नो पहिचान र संस्कृतिको जोर्गना गर्न आवश्यक रहेको बताइन्। आफ्नो देशको साहित्यलाई हिमालसँग तुलना गरेर साहित्य जर्गेनामा लाग्नुपर्ने उनको भनाई छ। शर्माले साहित्यको माध्ययमबाट सगरमाथाको शिखर चुम्नपनि श्रष्टालाई शुभकामना दिइन्।

त्यस्तै कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले उक्त आरोहणमा लाग्ने खर्चको केही प्रतिशत अझै उठ्न बाँकी रहेकोले आफूहरु रकम संकलनकै क्रममा रहेको सुनाए। उनले सम्पूर्ण साहित्यकारहरूको चाहनाअनुसार नै यो कार्य गर्न गैरहेको बताए।

उनले आफूले अहिलेसम्म लेखेका अधिकांश पुस्तकहरू यात्रासम्बन्धी नै लेखेको सुनाए। उनले थपे, ‘मैले अहिलेसम्म लेखेका २८ मध्ये १४ वटा पुस्तक त यात्रासम्बन्धी छन्, अब सापकोटाजीको यो साहित्यिक आरोहण सफल भएपछि नयाँ किताबपनि म लेख्छु।’

उक्त आरोहणलाई सफल तुल्याउनको लागि सहयोग गर्न चाहनेहरूले सनराईज बैंकको धुलिखेल शाखाको खाता नम्बर ०६७०४९७३५३७०१००१ मा रकम जम्मा गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.