उपाधीको लागि दाफिन्ससंग भिड्ने

|

इलाम : मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउँदै हिमालयन शेर्पा माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ। काँकडभिट्टाको चुनौती शेर्पाले ३-० ले पन्छाएको हो।

शेर्पाको जितमा त्रिदेव गुरुङ, बिसन गुरुङ र रवि थापा १/१ गोलको योगदान दिए। सुरुवातबाटै दबाब कायम राखेको हिमालयनले पहिलो हाफको इन्जुरी समयमा अग्रता कायम गरेको थियो। बिसन गुरुङको कर्नर प्रहारलाई त्रिदेव गुरुङले जाली चुमाएका थिए। ६१ औँ मिनेटमा रवि थापा मगरले अग्रता दोब्बर बनाए। रविको प्रहार विष्णु सुनुवारको खुट्टाबाट फ्लिक भएको बलले जाली चुम्दा शेर्पाले २-० को अग्रता बनायो।

खेलमा पछि परेको अवस्थामा काँकडभिट्टाले इन्जुरी समयमा तेश्रो गोल व्यर्होयो। पेट्रिक गोनाको पासमा विसनले पेनाल्टी एरिया नजिकैबाट जाली चुमाउँदै व्यक्तिगत दोश्रो गोल गरे। गोलरक्षक दिनेश थापा मगरलाई विट गराउँदै विसनले गोल गरेका थिए। खेलमा दुवै टिमले पाएका केही राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन्।

पहिलो हाफमा झापाका विशाल राई ए को क्रसमा फ्रान्सिसको प्रहारले पोष्टको दिशा लिन सकेन। हिमालयनका पेट्रिकको फितलो प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए। वान भर्सेस वानको अवस्थामा फ्रान्सिसको प्रहारले हिमालयनका गोलरक्षक किशोर गिरीलाई बिट गर्न सकेन। दोश्रो हाफमा झापाले आधा दर्जन पोष्ट आक्रमण बुने पनि गोल गर्न सकेन।

३० यार्ड वक्सबाट भिक्टोरको प्रहार किशोरले बचाएका थिए। हिमालयनका सुनिल खडकाले डिवक्स नजिकै गरेको शक्तिशाली प्रहार गोलरक्षक दिनेशले पञ्च गर्दै बचाएका थिए। झापाका खमिर गिल्सनको ३० यार्डभित्रको प्रहार किशोर गिरीले बचाइदिए। योगेश गुरुङले डिबक्स बाहिरबाट देव्रेबार च्याप्दै हानेको प्रहार हिमालयनका गोलरक्षक किशोरले पञ्च गर्दै बाहिर पठाइदिए। हिमालयनका पूर्णबहादुर गुरुङको प्रहारलाई झापाका गोलरक्षक दिनेशले नियन्त्रणमा लिएका थिए।

झापाका प्रशिक्षक मिन बस्नेतले आर्मी विरुद्धको तालमेल जस्तो खेल शेर्पासँग देखाउन नसकेको बताए। उनले डिफेन्सका गल्तीका कारण २ गोल व्यर्होनुपरेको बताए। टिमको अग्रपंक्ति चल्न नसक्दा हिमालयनविरुद्ध निरीह देखिनुपरेको बस्नेतको भनाई थियो। ‘गर या मरको अवस्थामा जोखिम मोल्दा तेश्रो गोल खान पुग्यो। स्ट्राइकर चल्न नसक्दा विंगरको भरमा ९० मिनेट खेल्नुपर्‍यो’ उनले भने।

यता हिमालयनका प्रशिक्षक विजेन्द्र पुडासैनीले टिम स्प्रिटका कारण जित निस्किएको बताए। आजको खेलको प्रर्दशनमा उनी पनि सुन्तुष्ट छैनन्। ‘ थ्रीस्टार विरुद्धको प्रर्दशनका कारण झापालाई सहज ठानेर खेल्दा केही दबाब झेल्नुपर्‍यो' उनले भने ‘विगंरलाई डिफेन्सको सर्पोट राखेर खेल्यो त्यसैले जित निस्कियो।’

खेलको म्यान अफ दि म्याच शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। चैत्र ५ गते हुने फाइनल खेलमा शेर्पाले क्यामरुनी क्लब दाफिन्सको सामना गर्नेछ। दाफिन्स विभागीय टिम नेपाल पुलिसमाथी २-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो।

शहीद स्मारक लिगमा सातौ स्थान समाप्त गरेको हिमालयन शेर्पा जारी सन २०१९ को सिजनमा दोश्रो पटक फाइनल पुगेको हो। यसअघि दोश्रो विशाल मेमोरियल गोल्डकपमा आर्मीसँग सडनडेथमा पराजित बन्दै शेर्पा उपविजेता बनेको थियो। काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा जारी सिजनमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन। यसअघि खप्तड गोल्डकपमा थ्रीस्टारसँग पराजित बन्दै काँकडभिट्टा फाइनल पुग्नबाट बञ्चित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.