|

विराटनगर : सुनसरीको दुहबीमा चैत ५ गते वित्त परामर्श तथा रोजगार मेला हुने भएको छ।

नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित इन्स्योर परियोजनाको सहयोग र दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा उक्त मेला हुन लागेको हो। मेलामा मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश १ को पनि सहयोग रहने बताइएको छ।

सरस्वती माध्यमिक विद्यालय, दुहवी सुनसरीको मैदानमा हुने मेलाले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पुर्‍याउने उद्देश्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए। 

मेलामा स्थानीय उद्योग/व्यवसाय, बैकिङ, पर्यटन, व्यवसाय, होटल लगायतका क्षेत्रमा रोजगार स्थानीय जनशक्तिलाई उपलब्ध गराउन सहयोग पुर्‍याउने उनको भनाइ छ। मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा राखी आफ्नो आवश्यकता अनुसारको मानव शंसाधन खोज्न र रोज्न सहयोग पुर्‍याउने छ।

यस्तै वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा सूचना दिइने, सीपमुलक तालिम दिने संस्थाहरूको प्रदर्शनी र तालिम बारे सूचना दिइने, रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासंग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क कार्यस्थलमा आधारित सीपमूलक तालीम सम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादन प्रदर्शनी गरिने घिमिरेले बताए।

रोजगार मेलाबाट कामको खोजीमा रहेका करिव २ हजार जनशक्तिको सहभागिता रहने आयोजकको अपेक्षा छ। मेलाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.