|
फाइल फोटो

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामै शल्यक्रिया गराएका छन्।  उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा मुख्यमन्त्री पौडेलले हेटौँडामै शल्यक्रिया गराएका हुन्।

पौडेलले आइतबार हेटौंडा-१० स्थित सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गराएका छन्। आँखाका प्रख्यात नेपाली डाक्टर डा. सन्दुक रुईतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया ५ मिनेटमै गरेका थिए। बिहान सवा ११ बजे शल्यक्रिया गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधिर भद्र श्रेष्ठले बताए।

शल्यक्रियापछि मुख्यमन्त्री क्वाटरमै विश्राम गरी सोमबार मात्रै आँखाको पट्टी खोलिने अस्पतालले जनाएको छ। चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिविन्दुको शल्यक्रियाका लागि सुझाब दिएको पारिवारिक श्रोतले जनाएको छ। मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए।

 मुख्यमन्त्री पौडेलसँगै २ सय जनाको पनि निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ। शल्यक्रियामा डा. रुईतसहित सामुदायिक आँखा अस्पतालका डाक्टरहरू सुनिल थकाली र होमबहादुर गुरुङ लगायतको टोलीले अप्रेशन गरेका थिए।

शल्यक्रिया गराउनेमा मकवानपुर, बारा र पर्साका विपन्न परिवारका महिला र बृद्धबृद्धा अत्याधिक रहेका छन्। नेपाल र थाईल्याण्डबिच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्ष पुगेको अवसरमा थाई दूतावास र थाई विहार, लुम्बिनीको सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.