|

कपिलवस्तु : बुद्धले बुद्धत्व प्राप्तीपछि घर फिर्तिसवारको ऐतिहासिक स्मरणमा कपिलवस्तुमा पहिलोपटक निग्रोधराम उत्सव २०७५ आयोजना हुने भएको छ। २५ सय ६२ वर्ष अगाडि भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरि गृहनगर कपिलवस्तु फर्कदा भएको खुसीयालीको क्षण अनुभूति गराउन निग्रोधराम उत्सव मनाउन लागिएको हो। कपिलवस्तु सदरमुकाम तौलिहवाबाट ३ किलोमिटरको दूरीमा रहेको कुदान क्षेत्रमा आउदो चैत्र ६ गते उत्सव मनाइने लुम्बिनी विकास कोषले जनाएको छ।

उत्सव आयोजना क्षेत्र कुदानलाई बुद्ध धर्मग्रन्थअनुसार निग्रोधारामको नामले समेत चिनिएको छ। यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ। निग्रोधाराम क्षेत्रमा बसी बुद्धपूजा, ध्यान गर्दा धर्म तथा शान्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास रहेको छ। हरेक वर्षको वर्षायाममा विभिन्न देशका सयौँ बौद्धमार्गीहरूले यहाँ महिना दिनसम्म वर्षाबास अर्थात् ध्यानमा बस्ने गर्दछन्। यहाँ दैनिकजसो श्रीलंका, थाइल्याण्ड, जापान, भियतनामलगायत देशका सयौँ बौद्धमार्गीहरू आई पूजा तथा प्रार्थना गर्ने गरेका छन्।

फाल्गुण पूर्णिमाका दिन होली पर्व मनाइने हुँदा सोहि दिन खुसीयाली साटासाट गर्नका लागि र ऐतिहासिक महत्वलाई झल्काउनका लागि पहिलोपटक निग्रोधराम उत्सव २०७५ आयोजना गर्न लागिएको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य तथा उत्सव आयोजना समितीका संयोजक राजेश ज्ञवालीले बताए। आइतबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले तयारीलाई तीव्रता दिएको जनाएको छ। उत्सवको उद्घाटन प्रदेश ५ का पर्यटन तथा संस्कृति मन्त्री लिला गिरीले गर्नेसमेत जनाइएको छ।

उत्सवको अवसरमा निग्रोधराम क्षेत्रमा दीप प्रज्जवलन, भिक्षुद्धारा पुजन, पूजापाठ, होली उत्साह साटासाट लगायतका कार्यक्रम तय गरिएको संयोजक ज्ञवालीले बताए। कपिलवस्तुको कुदान क्षेत्रमा बौद्धमार्गीहरूको दिनप्रतिदिन घुइँचो लाग्दै जानुले समग्र जिल्लाको प्रचारप्रसार हुनुको साथै अन्तर्राष्ट्रियस्तरमा कपिलवस्तु एउटा उत्कृष्ट बौद्ध धार्मिक पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गएको ज्ञवालीले विश्वास ब्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.