|

विराटनगर : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइभन्दा ठूलो शक्तिका साथ पार्टी अगाडि बढ्ने बताएका छन्।

विराटनगरमा आइतबार आयोजित नेकपा प्रदेश १ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताको विषयमा आशंका व्यक्त नगर्न कार्यकर्तालाई आग्रह पनि गरे। ‘नेकपाको दुई तिहाइको सरकार भनेर उडाउन खोजिएको छ,’ ओलीले भने, ‘अब दुई तिहाई होइन सोलोडोलो जित्नेगरी पार्टी ठूलो हुनेछ।’

अध्यक्ष ओलीले पार्टी एकतामा भएको ढिलाईबारे पनि कार्यकर्तालाई आश्वस्त पार्ने कोशिश गरे। उनले तल्लो तहसम्मको पार्टी एकता चाँडै सकेर पार्टीलाई क्रियाशिल र गतिशिल बनाउने पनि प्रतिबद्धता व्यक्त गरेको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीले सिके राउतसँग भएको सहमति र नेकपा विप्लवलाई लगाएको प्रतिबन्धको विषयमा पनि प्रष्ट पारेका थिए। उनले राउतसँगको सहमतिले विखण्डनकारी समाप्त भएको र विप्लवलाई लागएको प्रतिबन्ध हिंसा अन्त्यको कदम भएको दाबी गरे।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पहिलो पटक नेकपा १ नम्बर प्रदेश समितिको सपथ ग्रहण आइतबार भएको छ। प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेलले प्रदेशका पदाधिकारी तथा सदस्यहरूलाई विराटनगरस्थित पार्टी कार्यालयमा सपथ ग्रहण गराएका हुन्। सपथग्रहण कार्यक्रममा नेकपाका प्रदेश समितिका २ सय ७ जनै उपस्थिति थिए। सपथ ग्रहणमा प्रदेशका इन्चार्ज भीम आचार्य, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेशकुमार राई (हिमाल) लगायतको उपस्थिति थियो।

अध्यक्ष ओलीको आदेशमा विष्णु पौडेलले सबैलाई पार्टी र देशको नाममा सपथ ग्रहण गराएका थिए। सोही अवसरमा पार्टी अध्यक्ष ओली, महासचिव पौडेल र इन्चार्ज आचार्यले समसामयिक मन्तव्य राखेका थिए। उक्त सपथग्रहण तथा पूर्ण बैठकमा संचारकर्मीलाई भने फोटो खिच्न दिए पनि मन्तव्य सुन्न निषेध गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.