|

धनगढी : आयोजक सुदूरपश्चिम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन भएको छ। सात स्वर्ण, सात रजत र १० काँस्य पदकमा तीन स्वर्ण जित्दै सुदूरपश्चिमले पहिलो स्थान हासिल गरेको हो। 

सुदूरपश्चिम प्रदेशले तीन स्वर्ण, एक रजत र तीन काँस्यसहित सात पदक जितेको हो। प्रदेश १ दोस्रो भएको छ। प्रदेश १ ले एक स्वर्ण, तीन काँस्य र दुई रजत पदक जितेको छ। प्रदेश ५ एक स्वर्ण, दुई रजत जित्दै तेस्रो भयो।

प्रतियोगिताको विजेता सुदूरपश्चिमले १५ लाख, उपविजेता प्रदेश १ ले आठ लाख र तेस्रो भएको प्रदेश ५ ले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। प्रदेश २ र प्रदेश ३ एक÷एक स्वर्ण, एक÷एक रजत पदकसहित चौथो भएको छ। गण्डकी प्रदेश तीन रजतसहित पाँचौँ हुँदा कर्णाली एक रजतसहित छैटौँ भयो। 

आइतबार भएको फाइनल खेलमा पुरुष फुटबलतर्फ प्रदेश १ लाई ३–१ ले हराउँदै सुदूरपश्चिमले स्वर्ण जितेको हो। प्रदेश १ ले रजत पाउँदा प्रदेश २ ले कर्णाली प्रदेशलाई ४–० ले हराउँदै काँस्य पदक पायो।

महिला क्रिकेटमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले स्वर्ण जित्यो। प्रदेश १ ले काँस्य पाउँदा प्रदेश ३ लाई हराउँदै प्रदेश ५ ले रजत जित्यो। पुरुष क्रिकेटमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराउँदै स्वर्ण पदक प्राप्त ग¥यो। गण्डकीले रजत पाउँदा प्रदेश १ ले सुदूरपश्चिमलाई हराउँदै काँस्य पदक प्राप्त गर्‍यो। 

महिला भलिबलमा प्रदेश ३ ले स्वर्ण जित्दा गण्डकी प्रदेशले रजत पायो। प्रदेश ५ ले काँस्य पायो। पुरुष भलिबलमा प्रदेश ५ ले स्वर्ण जित्यो। गण्डकी प्रदेशले रजत पाउँदा प्रदेश १ तेस्रो भयो। 

ब्याडमिन्टनतर्फ यु–१७ र यु–१९ का महिला पुरुषका इभेन्ट भए पनि पदक तालिकामा यु–१९ को मात्रै राख्ने सहमति भएकालले यु–१९ पुरुषतर्फ सुदूरपश्चिमका देवराज रानाले स्वर्ण पदक जिते। प्रदेश १ का प्रनिस ठकुरीले रजत तथा सुदूरपश्चिम प्रदेशका अमृत चौधरी र योगेश खड्काले काँस्य पदक प्राप्त गरे। यु–१९ महिलातर्फ प्रदेश १ की नीता लम्सालले स्वर्ण सुदूरपश्चिमकी नीलिमा महराले रजत तथा सुदूरपश्चिमकी विष्णु विष्ट र कर्णाली प्रदेशकी सामना भट्टराईले काँस्य पदक प्राप्त गरिन्।

यु–१७ पुरुषतर्फ जेबी साउद प्रथम, रोशन साउद तेस्रो तथा प्रदेश १ पेम्बा शेर्पा र सुपका प्रियान्सु खत्री तेस्रो भए। यु–१७ महिलातर्फ प्रदेश १ की सीमा राजवंशी प्रथम, प्रदेश १ कै अन्जना राई दोस्रो तथा प्रदेश ५ की कृष्णा बज्राचार्य र सुपकी एलिसा तिरुवा तेस्रो भइन्। 

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा फागुन २९ देखि चैत ३ सम्म प्रतियोगिता आयोजना भएको थियो। सात वटै प्रदेशका खेलाडी, अफिसियल र प्रशिक्षक गरी करिब साढे छ सयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याडमिन्टनका खेल महिला र पुरुषतर्फका खेल आयोजना गरिएका थिए। फुटबल खेल भने पुरुषतर्फ मात्रै गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.