|

हेटौंडा : प्रदेश ३ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको योजना समेटेर पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ। 

आयोगले आवधिक योजनामा ‘स्वस्थ, सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश’ नारासहितको आधारपत्र आइतबार प्रदेश सभामुख सानुकुमार श्रेष्ठ, आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेललगायतले सार्वजनिक गरे। संघीयताको सुदृढीकरण तथा लगानी अभिवृद्धिद्वारा सामाजिक न्यायसहितको दिगो तथा उच्च आर्थिक वृद्धिदर हासिल गर्नु योजनाको लक्ष्य रहेको बताइएको छ।

पञ्चवर्षीय आवधिक योजनाको अन्तिम वर्षसम्म अहिलेको तुलनामा बजेटको आकार झण्डै तीन गुणाले बढ्ने दावी गरिएको छ। प्रदेशले पहिलो पटक ०७५/७६ मा ३५ अर्ब ६२ करोड रुपैयाँको बजेट बनाएकोमा आव २०८०/८१ सम्म बजेटको आकार बढेर झण्डै एक खर्ब रुपैयाँ हुने आधारपत्रमा उल्लेख छ।

प्रदेशको प्रतिव्यक्ति आय दोब्बरभन्दा बढी वृद्धि हुने आयोगको दाबी छ। हाल एक हजार ७६७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको प्रदेशमा पाँच वर्षपछि प्रतिव्यक्ति आम्दानी चार हजार १८ अमेरिकी डलर पुग्ने अनुमान आधारपत्रमा छ। मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा प्रदेशको हिस्सा ४० प्रतिशतभन्दा बढी हुने उल्लेख छ। प्रदेशको गरिबी पनि आधा घट्ने अनुमान छ। 

वर्तमान तथ्याङ्कअनुसार प्रदेश ३ मा ६९ वर्ष औसत आयु रहेकोमा पाँच वर्षको अवधिमा औसत आयुमा समेत वृद्धि भई ७५ वर्ष हुने दाबी छ। आयोगले परियोजना बैंकको सञ्चालन तथा कार्यविधि पनि बनाएको छ। परियोजना बैंक सञ्चालनका लागि सफ्टवेयरको समेत विकास गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.