|

बैतडी : पाटन विमानस्थलको कालापत्रे गर्ने सम्झौताको समय सकिएको आठ महिनामा पनि काम सुरु भएको छैन। २०७३ चैतमा भएको सम्झौताअनुसार गत असारमा कालोपत्रेको काम सक्नुपर्ने थियो। 

निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले विमानस्थलमा कटिङ, फिटिङ र सबबेसको काम सकेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर कविता भट्टले बताइन्। विमानस्थलको स्तरोन्नति गर्ने कार्य अन्तर्गत बेस र सबबेसको काम सकिएर अब कालोपत्रेको काम मात्रै बाँकी रहेको भट्टको भनाइ छ। विमानस्थल निर्माण सुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको पनि केही लापरवाहीका कारण समयै सम्पन्न हुन नसकेको उनको भनाइ छ।

विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिने योजना छ। ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिने छ। यसका लागि मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाख रुपैयाँको लागतमा काम भइरहेको छ। 

विमानस्थल कालोपत्रे गर्ने कार्य समयमै नसकिने भएपछि स्थानीयबासी भने निराश भएका छन्। विकास निर्माणका कामहरु समयमै नसकिने रोगजस्तै भईसकेको पाटनका लोकेन्द्रप्रसाद पन्त बताउँछन्। 

२०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाइ सेवा सञ्चालन भएको थियो। तर, पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन नेकपा माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।

यस विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.