|

उदयपुर : एक दशकअघि उदयपुरका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खर तथा थाकलले छाएका घर झुरुम्म देखिन्थे। अहिले तिनै गाउँका घरमा टल्लक टल्किएका जस्तापातका छानाका घर छन्। तीमध्ये कुनै घरको छाना हरियो, कुनै रातो छ। 

कटारी नगरपालिका–११ मा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक नविक कार्की पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरुका घरको छाना जस्तापाताले छाएको बताउँछन्। ‘गाउँमा पनि विभिन्न प्रकारका व्यवसायिक खेती हुन थाले,’ उनले थपे, ‘त्यसले पनि गाउको मुहार फेर्न सहयोग ग¥यो, त्यसैले टिनका छाना टल्लक टल्के।’

सर्वसाधरणका घरमा टल्किएका जस्तापाताले छाएको घर देख्दा गाउँले मुहार फेरेको सजिलै थाहा हुन्छ। ‘दश वर्षअघि खरले छाएका घर गाउँभरी भेटिन्थ्ये,’ उदयपुरगढी गाँउपालिका–१ की कमला खनाला भन्छिन्, ‘अहिले प्रायः जताततै जस्तापाताले छाएका घर छन्।’ ती घरमध्ये धेरैले आफ्नो आर्थिक हैसियत उक्सिएकाले घरमा जस्तापाता लगाएका हुन्। अति गरिब तथा विपन्न परिवारलाई सरकारी तथा गैरसरकारी निकायको सहयोगले जस्तापाता लगाइएको छ। लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार लिम्चुङबुङमा दलित तथा विपन्न परिवारलाई गाउँपालिकाले जस्तापाता दिएको हो। 

बदलिँदै जीवनशैली

सर्वसाधराणका घरका छानामा मात्र परिवर्तन आएको छैन। जीवनशैली पनि बदलिँदै गएको छ। रौतामाई गाँउपालिका–१ नामेटारका ६३ वर्षीय रामबहादुर मगरका तीन भाइ छोरा वैदेशिक रोजगारीका लागि दुबईमा छन्। उनीहरुले कमाइले मगर परिवारको आर्थिक अवस्था सुध्रिएको छ।

‘मैले ४० वर्षअघि भारतको मुम्बइमा देखेको टेभी अहिले घरमै हेर्न पाएको छु,’ रामबहादुरले भने, ‘छोराहरु विदेश गएपछि पठाइदिएको पैसाले किनेर घरमै टिभी हेर्न थालेको छु।’ टिभी हेर्न कटारी र गाईघाट धाएका उनले यस्तो अवस्था आउला भनेर आफूले नसोचेको बताए।

बेलका नगरपालिका मैनामैनीका दिलहबहादुर दर्जीले पनि १५ दिनअघि घरमा डिसहोम जोडे। छोराले मसेसियाबाट पठादिएको टिभी हेर्नका लागि उनले ४० वाटको सोलार पनि जडान गरेका छन्।

पछिल्लो समय ग्रामीण क्षेत्रमा टेलिभिजन नभएका घर कमै मात्र पाइन्छ। ‘जसको घर जस्तापाताले छाएको छ,’ कटारी–११ का शिव खत्रीले भने, ‘उसले अनिवार्य रुपमा डिसहोस राखेको छ।’

खानपानमा परिवर्तन 

यस क्षेत्रका सर्वसाधरणको घर मात्र परिर्वतन भएको छैन। उनीहरुको खानपान समेत परिवर्तन भएको पाइन्छ। कटारी–१२ का रामबहादुर खुलाल मगरका बारीमा कोदो, मकै र फापर प्रसस्तै उत्पादन हुन्छ। मगर परिवारलाई उक्त अन्नले वर्ष दिनभरी पुग्ने मात्र होइन, बिक्री समेत गर्छन्। यसरी नै उदयपुरगढी–२ का बमबहादुर थापाले गत वर्ष करिब २० मुरी फापर र ३० मुरी कोदो बेचे। 

उनीहरुजस्तै यस गाउँका नागरिकहरु कोदो, मकै र फापर बेचेर चामल खरिद गर्छन्। ‘हिजोआज गाउँ मै सडक आएको छ,’ थापाले भने, ‘बारीमा फलेको कोदो, मकै, फापर र जौँ किन्न गाउँमै आउँछन्। केहीले चामलसँग साटेर लान्छन्।’ उदयपुरको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ।

६० देखि ८० वर्ष उमेर समूहका वृद्धावृद्धको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ। उनीहरुका अनुसार गाउँका पुराना कुरा हराउँदै गएका छन्। गाउँमै सडक पुगेको छ। गाउँ र सहरको दूरी छोटो भएको छ। सहरमा पाइने हरेक कुरा गाउँमै पाइन्छ। गाउँका धेरै छोरा नाति पैसा कमाउन विदेश गएका छन्। खेतबारी बाँझो छ। 

कटारी–६ का ६९ वर्षीय लालध्वत पुलामी अहिले गाउँमै सहर आएको बताउँछन्। नुन, तेत, लुगा किन्न लाहान सहर चुरेको जंगलै जंगल हिँडेको उनको सम्झना छ। ‘थाकलले छाएको घर अहिले टिनले छाएको छ। गाँउमा मुखियाएको घरमा रेडियो सुन्ने चलन अहिले घरमै टेलिभिन हरिन्छ,’ उनले भने, ‘गाउँमै चाउचाउ, बिस्कुट खान पाइन्छ।’ 

यति मात्र होइन, गाउँमै मेडिकल खुलेका छन्। अंग्रेजी पढाइ हुने स्कुल पनि खोलिएको छ। उदयपुरगढी–१ का ८१ वर्षीय भक्तबहादुर खनाल गाउँमा सहरका जस्तै घर भएको बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.