विप्लवको रणनीति- चन्दा उठाएर बलियो बन्ने !

|

काठमाडौं : सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा भएको छ। गत साउनमा पक्राउ परेका प्रतिबन्धित नेकपाका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्माबाट विप्लव समूहले विभिन्न देशमा हतियार खरिदका लागि ठूलो रकम पठाएको सुरक्षा स्रोतले बताएको छ।यद्यपि कति रकम र कुन माध्यमबाट पठाएको हो सो भने खुलाइएको छैन ।

विश्वकर्मालाई पक्राउ गरेपछि उनको साथबाट भेटिएका दस्तावेज र सोधपुछका क्रममा उक्त कुराको खुलासा भएको थियो। उनलाई प्रक्राउ गर्ने महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले दिएको जानकारीअनुसार उक्त सूचना सरकारलाई त्यति बेला नै जानकारी दिइएको थियो। उच्च स्रोतले भन्यो, 'हामी त्यति ठूलो रकम विदेश पठाएको देख्दा झस्कियौँ। केही न केही छ भन्ने त्यति बेला नै लागेको थियो।'

भारतको बाटो हुँदै सिंगापुर रकम पठाएको पत्ता लागेको बताउने ती अधिकारीले भने, 'पूर्वमन्त्रीसमेत रहेका विप्लवपछिका नेता प्रकाण्डको पक्राउ पहिले नै ठूलो रकम श्रीलंका, भारत र सिंगापुर पठाइएको रहेछ।' त्यो रकम हतियार दलालहरूलाई पठाइएको हुनसक्ने सुरक्षा निकायहरूको अनुमान छ। माओवादी युद्धका क्रममा सरकारकी सुरक्षा संयन्त्रहरूबाट लगेका लगभग दुई हजारभन्दा बढी अत्याधुनिक हतियार विप्लव समूहसँग रहेको र नयाँ हतियार किन्नका लागि रकम पठाइएको हुनसक्ने सुरक्षा निकायको ठहर छ।

गत साउनमा पक्राउ परेका प्रकाण्ड सर्वोच्च अदालतबाहिर पत्रकारहरूसँग

साउन २२ गते हेटौँडाबाट काठमाडौं आउँदै गर्दा प्रकाण्डलाई प्रहरीले फर्पिङबाट पक्राउ गरेको थियो। त्यसपछि उनको काठमाडौंमा रहेको कोठामा छापा मार्दा पार्टीका गोप्य दस्तावेज सहित पार्टी बैठकका महत्त्वपूर्ण निर्णय लेखिएको डायरी प्रहरीको हात परेको थियो।

उक्त डायरी सुरक्षा निकायको हातमा लागेपछि प्रकाण्ड पार्टीभित्र नै आलोचित बनेको समाचार सार्वजनिक भएको थियो भने उनलाई पार्टीको प्रवक्ताबाट पनि हटाइएको थियो।

उक्त डायरीमार्फत नै विप्लवले सैन्य विभाग गठन गरेको र जिम्मेवारीसमेत तोकिएको अर्कोतर्फ त्यतिठूलो रकम विदेश पठाइएकाले हतियार किन्न नै हुनसक्ने सरकारी सुरक्षा संयन्त्रहरूको विश्लेषण छ। विप्लव सुप्रिम कमान्डर रहेको सैन्य विभाग प्रमुखमा दीपक चलाउने रहेको पनि उक्त दस्ताबेजमा उल्लेख रहेको सुरक्षा स्रोतले जानकारी दियो। चलाउने प्रचण्ड नेतृत्वको माओवादी सशस्त्र द्वन्द्वका क्रममा माओवादी जनसेनाका सहायक डिभिजन कमान्डर रहेका थिए।

कहाँबाट उठायो र उठाउँदै छ रकम

विप्लवसमूहले त्यति ठूलो रकम हतियार खरिदका लागि विदेश पठाएको भन्ने खुलासासँगै सुरक्षा संयन्त्रहरू त्यतिठूलो रकम कहाँबाट उनीहरूकोमा पुग्यो भन्ने खोजी गरेका छन।

उक्त रकम स्थानीय तहका जनप्रतिनिधि, व्यापारी, कर्मचारी, शिक्षकलगायतसँग उठाएको हुनसक्ने सरकारी संयन्त्रको अनुसन्धानले देखाएको छ। ठूलो रकम विदेश पठाएपछि विप्लव समूहले चन्दा संकलनलाई तीव्रता दिएको थियो।

स्थानीय तहका जनप्रतिनिधिलाई चन्दा दिन नभए राजीनामा गर्न भन्दै उसले चिठी थमाउने गरेका घटना सार्वजनिक भइरहेका छन। उसले शुरुमा हतियार किन्ने र बलियो बन्ने तबसम्म सुरक्षा निकायमाथि हमला नगर्ने नीति लिएको थियो।

विप्लवसमूहका एक नेताले भने, 'पहिला माओवादी युद्धको बेलाजस्तो प्रहरी चौकीमाथि हमला गर्ने योजना छैन, हाम्रो पहिलो प्राथमिकता भनेको स्थानीय जनप्रतिनिधिलाई सक्दो चाँडो राजीनामा गर्न लगाउने हो। यसमा सुरक्षा निकायले दमनको अवस्था सृजना गरे त्यसको प्रतिकार गर्छौँ।'

सरकारले विप्लवको यो रणनीति भएको र यसलाई शुरुमा नै निस्तेज पार्नका लागि चार वटै सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको जनाएको छ। कालिकोट लगायतका जिल्लामा भने विप्लव समूहका गतिविधिको निगरानीका लागि सेना नै गस्तीमा निस्किएको थियो। प्रहरीले पनि विप्लव समूहविरुद्धको सुरक्षा अपरेसन तीव्र पारेको छ।

गृहमन्त्रालय स्रोतका अनुसार विप्लव समूहले कुनै बेला पनि अप्रिय घटना घटाउन सक्ने भन्दै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई उच्च सुरक्षा सतर्कताका साथ सावधान रहन निर्देशन दिएको छ।

राजधानीलगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र आगजनी गरेर ठूलो धनराशि र एकजनाको मृत्युसमेत भएको थियो। त्यसपछि सरकारले विप्लवसमूहका तेस्रो तहका नेता हेमन्तप्रकाश वलीसहित दर्जनौँ नेता-कार्यकर्तालाई मुलुकका विभिन्न जिल्लाबाट पक्राउ गरेर मुद्दा चलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा पनि विप्लव समूह विध्वंसकारी रहेको र उसलाई निस्तेज पार्ने बताएका छन। प्रधानमन्त्रीले विप्लव विरुद्ध कसरी जानुपर्छ भनेर सरकारलाई राम्रोसँग थाहा भएको भन्दै राजनीतिको मूलधारमा आउन चाहे हतियार बुझाएर आउन र नचाहे सरकारको सामना गर्न भन्ने सन्देश दिएका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.