|

पर्वत : पर्वतको कुश्मा नगरपालिका १४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलको दैनिकी बिहान सबेरैदेखि राति अबेरसम्म पनि कुखुरा फर्मको स्याहार गर्नमै बित्छ। अण्डा एकै ठाउँमा जम्मा पारेर बजारमा पठाउनु, फ्रेस आउसमा मासु काट्नु उनको नियमित काम हो। उनको यो दैनिकी भने विदेशी भूमिमा बगाएको पसिनाप्रति पश्चात्तापपछिको हो। 

पौडेलले आठ वर्षदेखि कुखुरापालन गर्दै आएका थिए। उनले सोचेको जस्तो प्रगति र आम्दानी हुन नसकेपछि उनी धेरै कमाउने आसामा कतार पुगे। कतारमा उनले हेल्परको काम पाए। तर उनले त्यहाँ यति धेरै मिहिनेत गर्नुपर्‍यो जति उनले नेपाल छँदा गरेका थिएनन्।

विदेशी भूमिमा बगाएको नेपाली पसिनाप्रति उनलाई पश्चात्ताप लाग्यो। उनी २७ महिनाको कतार बसाइपछि नेपाल फर्किए। ‘त्यहाँ पुगेर त्यति धेरै मिहिनेत गर्नुपर्ने रहेछ, त्यतिकै काम यहाँ गर्ने हो भने त त्यहाँभन्दा दोब्बर कमाई घर परिवारसँगै बसेर हुन्छ भन्ने लागेर नै कतारबाट फर्किएको हुँ’ गणेशले भने।

कतारबाट फर्किएपछि उनले व्यावसायिक रूपमा कुखुरापालन र तरकारी खेती सुरु गरे। झन्डै १५ लाखको लगानीमा उनले जहरे पोल्ट्री तथा कृषि फर्म सञ्चालन गरेका छन्। पौडेलका खोरमा अहिले ६०० बोइलर र २०० लेयर्स जातका गरेर ८०० कुखुरा छन्। विदेशमा मासिक ३० देखि ३५ हजार रुपैयाँ कमाई गर्न बिहानदेखि बेलुकासम्म काम गर्ने उनले अहिले घरमै बसेर मासिक कम्तीमा ५० हजार रुपैयाँ मुनाफा गर्छन्। अहिले उनको जीवन फेरिँदै गएको छ।

उनले पालेका कुखुराबाट एक महिनामा ६ हजार अण्डा उत्पादन हुन्छ। विदेशमा रहँदा ३० हजार रुपैयाँका लागि सङ्घर्ष गरेका गणेशले मासिक झन्डै ७० हजार रुपैयाँ बराबर त अण्डाको मात्र कारोबार गर्छन्। उनले घरमै फ्रेस हाउस पनि चलाएका छन्। त्यसबाट पनि उनलाई राम्रो आम्दानी हुने गरेको छ। तर कहीलेकाहीँ अण्डाले बजार नपाउँदा उनलाई समस्या पनि हुने गरेको छ। 

गणेशले कुखुराको फर्मबाट उत्पादन हुने सुलीको प्रयोग गरेर तरकारी खेती पनि लगाएका छन्। उनको बारीमा रहेका टनेलमा रातै देखिने गरी टमाटर पाकेका छन्। बेमौसममा पनि सिमी, बोडी, काँक्रालगायतका तरकारीहरू फलिरहेका छन्। प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेर छोडेका गणेशले आफ्नो जीवन कृषि कर्ममै लगाउने योजना सुनाए। ‘विदेश पनि बस्दिन भन्ने निर्णय गरेर फर्किएको मान्छे हुँ, मेरो जीवन अब कृषि कामका लागि अर्पण भएको छ’ उनले भने। यही कारण पनि उनले अहिले प्राविधिक विद्यालयमा भर्ना भएर जेटीए अध्ययन गर्न थालेका छन्। 

कृषि प्रविधि सम्बन्धी अध्ययन गरेपछि आफ्नो तरकारीबारी र पोल्ट्री फर्ममा आउन सक्ने सबै समस्याको समाधान आफैँले गर्न सक्ने उनको विश्वास छ। कृषि सम्बन्धी काम गर्ने मान्छे स्वयंमा ज्ञान भयो भने हरेक पटक प्राविधिक खोज्न दौडिन नपर्ने र व्यवसाय पनि फस्टाउने भएकाले नै उनी व्यावसायिक कृषि कर्मसँगै प्राविधिक धारको अध्ययनमा पनि भर्ना भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.