महानगर भन्छ: यो अवसर मात्र हो, सधैँ सफा राख्ने प्रयास हुनेछ

|

काठमाडौं:  काठमाडौंको सडक यतिखेर धमाधम सफा हुँदैछ। धुलो र धुवाँले अभ्यस्त भइसकेका महानगरबासी सफा सहरमा भएको हेर्ने पाउने हुन् कि जस्तो पनि लाग्छ। सडकको रूप केही परिवर्तन भएको महसुस गर्दै हुनुहुन्छ भने छक्क नपर्नु होस्। किनभने चैत १५-१६ गते लगानी सम्मेलनलाई केन्द्रित गरेर सफाई गर्न थालिएको हो।

सडक छेउछाउको फोहोर हटाउन सरकार मिहिनेत गर्दैछ। यात्रु प्रतिक्षालय रङ्गिदैछन। रोचक पक्ष के छ भने प्राय विदेशी पाहुना आउँदा मात्र काठमाडौं सफा हुने गर्दछ। यो एउटा संस्कार बनिसकेको छ। विदेशी पाहुनालाई लक्षित गरी विगत झैँ सरकार यतिखेर काठमाडौंको सफाईमा लागेको हो।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले अनुसार काठमाडौलाई सफाइ गर्ने योजनामा गम्भीर रूपमा लिएको बताए। उनले लगानी सम्मेलनलाई लक्षित गरी यी सबै सफाइको काम गर्न थालिएको हो जानकारी दिए।  काठमाडौं देशको राजधानी भएकोले यसलाई अझ सुन्दर सफा बनाउनु पर्ने र निरन्तर रूपमा सफाइ अभियान चलाउनुपर्ने उनले बताए।

'ब्रुमर पनि ल्याएका छौ।अब काठमाडौं धुलो र फोहरबाट मुक्त हुने छ,' उनले भने,' यो लगानी सम्मेलन भनेको एउटा अवसर मात्र हो। अबदेखि हामी काठमाडौंलाई हामी सधैँभरि सफा सुग्घर राख्नेछौँ।' सडक विभागका सहायक प्रवक्ता अर्जुन सुवालले अनुसार काठमाडौंका सडकलाई सफा गर्नको लागि ब्रुमर पनि मगाएका बताए। 'हामी अब सडकलाई सफा गरेर नै जाने छौँ', उनले भने ' काठमाडौंको सडक देशको अन्य सडक  भन्दा पनि फरक ढङ्गले नै यसको सञ्चालनमा ल्याउनेछौ।' उनले विगतका तुलनामा सडक अहिले भने सफा र सुन्दर रहेको दाबी समेत गरे।

'नियमित नै सडक सफा गरिरहेका छौ,काठमाडौंका सडकले देशको समग्र सडकलाई प्रतिनिधित्व गर्ने भएकोले हामीले गम्भीरताका साथ सफा गरिरहेका छौ,' उनले भने,' लगानी सम्मेलन पनि आउँदै छ तर पनि हामीले अरू बेला जस्तो गरेर सडक सफा गरेका छैनौँ, हामीले सफा गर्ने भनेको काठमाडौंलाई हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.