|

मकवानपुर:  हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी प्रालि उद्योग अनिश्चितकालका लागि बन्द भएको छ। सोमबार उद्योग प्रशासनले सूचना प्रकाशित गरेर अनिश्चितकालका लागि उद्योग बन्द भएको घोषणा गरेको हो।

कात्तिक महिनाबाट सेवासुविधाका विषयलाई लिएर पटक-पटक मजदुरहरूसँग वार्ता गरे पनि उनीहरूको माग पूरा नगरी उद्योग प्रशासनले उद्योग बन्द भएको सूचना प्रकाशन गरेको आधिकारिक ट्रेड युनियनका सचिव सन्दीप कार्कीले जानकारी दिए। कार्कीका अनुसार आधिकारिक ट्रेड युनियन र उद्योग प्रशासनवीच सोमबार दिउँसो सेवासुविधाको समायोजन तथा बिदाको विषयमा वार्ता भएको र वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि उद्योग प्रशासनले उद्योग बन्द भएको सम्पूर्ण दोष आफूहरूमा थुपारेको गुनासो गरे।

‘हामीले उद्योग प्रशासनसँग लामो छलफल गर्‍यौ। करिब दुईघण्टासम्म निर्णय आउँछ भनेर हामीलाई कुराउने काम भयो। दिउँसो करिब ४ बजेपछि उद्योग बन्द भयो भनेर सूचना प्रकाशन भयो’, उनले भने, ‘उद्योग प्रशासनले उत्पादन बन्द गरी मजदुरहरू गेट तथा प्रशासन कक्षमा हुलहुज्जत घेराउन गर्ने जस्ता कार्य पटकपटक भएकोले उद्योग सञ्चालन गर्न असहज भएको उल्लेख गरेको रहेछ। यो एकदमै भ्रमपूर्ण र कपोकल्पित प्रचार हो।’

 उनले हाल उद्योगमा फल्स सिलिङ हाल्ने काम भइरहेको र जसले गर्दा काम गर्न असहज भइरहेको विषयका कारण उद्योग बन्द भएको नभएर मजदुरलाई आरोप लगाएको बताए। उद्योगमा एकसय ४८ जना कार्यरत छन्। उद्योगले सहारा, गोल्डफ्ल्याक, क्याप्टेन तथा लाली, मायालुलगायत चुरोट उत्पादन गरिरहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.