|

दाङ : तुलसीपुरमा हतियारसहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा तुलसीपुर ३ श्रीरखोला निबासी छवि थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

गोप्य सूचनाका आधारमा प्रहरीले थापाको घरमा छापा मारेर एक थान भरुवा बन्दुकसहित उनलाई पक्राउ गरेको थियो। थापालाई सोमबार नै म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय दाङले अवैध हातहतियार बुझाउन सवैमा आग्रह गरेको छ। इजाजत नलिई, नवीकरण नगराई वा हकवालाबाट नामसारी नलिई प्रयोग गरिएका हतियार ३५ दिनभित्र प्रशासनलाई बुझाउन आग्रह गरिएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको फागुन २८ गतेको निर्णयअनुसार कार्यालयले सूचना जारी गरी यस्तो आग्रह गरेको हो। जिल्लामा कसैले अवैध हातहतियार र खरखजना राखेको भए तोकिएको समयभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय अथवा सेना व्यारेकमा बुझाउन आग्रह गरिएको छ।

स्वेच्छाले तोकेको समयभित्र बुझाउनेलाई कारबाही नगरिने भन्दै सूचना बेवास्ता गरिए हातहतियार तथा खरखजना ऐनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.