|
फाइल फाेटाे

मकवानपुर : हेटौंडा–७ स्थित कमाने क्षेत्रमा बर्डफ्लु रोगबाट प्रभावित ४१ हजार १२५ वटा कुखुरा नष्ट गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन दिन लगाएर लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरेर सकेको हो।

२४ वटा फर्मको लेयर्स र एउटा फर्मको ब्रोइलर कुखुरा नष्ट गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुुख डा. चेतनारायण खरेलले जानकारी दिए। बर्डफ्लु प्रभावित क्षेत्रामा ६ हजार ८ सय ९० वटा अण्डा, दुई सय केजी दाना पनि नष्ट गरिएको खरेलले बताए। प्रभावित क्षेत्रमा कुखुरा नष्ट गरेसँगै टोलीले कमानेकै अन्य फार्म र हर्नामाडी क्षेत्रका १२ वटा फार्मबाट बर्डफ्लु परीक्षणको लागि नमूना संकलनसमेत गरेको छ।

 ‘बर्डफ्लु प्रभावित क्षेत्रमा हामीले दिनरात नै काम गरेर सबै कुखुरा र अण्डा नष्ट गरेका छौं त्यसबाहेक घरपालुवा परेवा र लोकल कुखुरा पनि हामीले नष्ट गरेका छौं।’ डा. खरेलले भने–‘अन्य क्षेत्रमा पनि आशंका भएपछि दर्जनभन्दा बढी खोरबाट नमूना संकलन गरी काठमाडौं पठाएका छौं।’  

जिल्ला विपदु व्यवस्थापन समिति मकवानपुरको बैठकले क्षतिपूर्तिका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयले दरभाउसहित निर्धारण गरी सिफारिस गरेको छ। करोडौं क्षतिपूर्ति प्रदान गर्नुपर्ने भएकाले पशुपंक्षी मन्त्रालयले उक्त सिफारिस मन्त्रिपरिषद्मा पठाउने बताइएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि मात्र व्यवसायीले क्षतिपूर्ति रकम पाउने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिले ६ हप्ताभन्दा अघिको लेयर्स कुखुराको प्रतिगोटा तीनसय ४ रुपैयाँ र ६ हप्ताभन्दा पछि र ६० हप्ताभन्दा कमको कुखुराको प्रतिगोटा ९ सय चार रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।

त्यस्तै २८ दिनअघिको ब्रोइलरको मूल्य प्रतिगोटा २ सय ४७ र २८ दिनपछिको प्रतिगोटा ३ सय ३१ रुपैयाँ निर्धारण गरी सिफारिस गरिएको थियो। त्यसैगरी दानाको प्रतिकेजी ६५ रुपैयाँ र अण्डाको प्रतिगोटा ११ रुपैयाँका दरले क्षतिपूर्ति दिन विपद् व्यवस्थापन समितिले सिफारिस गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.