|

काठमाडौं : मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाल र मलेसियाबीच राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल सुरु गरेका छन्। 

राजदूत पाण्डे र मलेसियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी जनरल राजा डाटो नर्सिवन विन जानैल अविदिनबीच भएको उक्त भेटमा नेपाली श्रमिकको हकहित, दुई देशबीचको उच्चस्तरीय भ्रमणको सम्भावना र नेपालमा लगानीका सम्बन्धमा छलफल भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। 

राजदूतले पाण्डेले नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिकमा सम्पन्न भएको श्रम समझदारी (एमओएम) लागू गर्ने सम्बन्धमा ध्यानाकर्षण गराए। छलफलमा राजदूत पाण्डेले उक्त समझदारीमा उल्लेख गरिएको नेपाली श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्डको व्यवस्थाअनुसार मलेसिया सरकारले यथाशक्य चाँडो काम अघि बढाएको खण्डमा नेपाली कामदारलाई मलेसिया आउन मार्ग प्रशस्त हुने बताए। उनले कलिङ भिषा’ लागेका नेपाली कामदारलाई मलेसिया लैजाने व्यवस्था मिलाउन अनुरोध गरेका थिए।

राजदूत पाण्डेयले यही चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुन लागेको लगानी सम्मेलनमा मलेसियाका लगानीकर्ताको सक्रिय सहभागिताका लागि आग्रह गरेको जनाइएको छ। भेटमा विगत लामो समयदेखि नेपाल र मलेसियाबीच उच्चस्तरको भ्रमण हुन नसकेकाले उच्चस्तरीय भ्रमणका लागि पहल गर्ने विषयमा समेत छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.