|

काठमाडौं : केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसङ्ख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ। उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसङ्ख्या कति पुग्यो?’ त्यो बोर्डले सोमबारको जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ। राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ।

प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ। जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो। प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ भन्ने खबर गाेरखापत्र दैनिकमा छ। विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको विभागका निर्देशक शङ्करलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसङ्ख्या प्रक्षेपण गर्ने गरिएको बताउँदै भने, ‘प्रक्षेपण गरिएको जनसङ्ख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ।’ 

विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसङ्ख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो। जबकि जनगणनाले जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखायो। झण्डै २० लाख जनसङ्ख्या फरक देखियो। विभागका तत्कालीन महानिर्देशक डा रुद्र सुवालले भने, ‘त्यो बेला २०५८ सालको जनगणनाका आधारमा प्रक्षेपण गरेका थियौँ, तर १० वर्षमा जनसङ्ख्या बृद्धिदर घटेको रहेछ। त्यसैले बृद्धिदर घट्दा प्रक्षेपणमा असर पर्नगयो।’ विसं २०५८ को जनसङ्ख्या बृद्धिदर दुई दशमलव २५ प्रतिशत थियो भने २०६८ सालमा यो बृद्धिदर घटेर एक दशमलव ३५ प्रतिशतमा झरेको थियो।

विभागको प्रक्षेपणले आगामी दुई वर्षमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या झण्डै १० लाख बढी पुग्ने देखाएको छ। ‘वैदेशिक रोजगारी र अध्ययनका लागि महिलाको तुलनामा पुरुषहरू बढी विदेशिने गरेका छन्’ विभागका निर्देशक श्रेष्ठले भने, ‘महिलाको मृत्युदर पनि कम छ। औषत आयु पनि बढी छ। त्यसैले महिलाको जनसङ्ख्या बढी हुनु स्वाभाविक हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.